काठमाडौं । आगामी भ्रमण वर्षमा नेपाल घुम्न आउने विदेशी पर्यटकलाई सरकारले जीपीएस (ग्लोबल पोजिसनिङ सिस्टम) वा एपको माध्यमबाट निगरानी गर्ने भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका अनुसार नेपालमा घुम्न आउने विदेशीको अवस्था, सुरक्षालगायत विषयमा जानकारी लिने उद्देश्यले यस्तो गर्न लागिएको हो ।
‘पर्यटक र पर्यटन व्यवसायको सुरक्षाका लागि दुइटा सिस्टम अघि बढाउँदै छौं,’ शुक्रबार राजधानीमा आयोजित ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१ औं साधारणसभामा मन्त्री भट्टराईले भने,’ एउटा टुरिजम स्याटेलाइट एकाउन्टिङ सिस्टम अर्को जीपीएस सिस्टम ।’
उनले यो विधि चाँडै अघि बढाउने तयारी भइरहेको बताउँदै भने, ‘एउटा पर्यटनको आगमन कसरी भइरहेको छ । उहाँहरू कहाँ पुगिरहनुभएको छ । कस्तो अवस्थामा हुनुहुन्छ र उहाँहरूलाई आवश्यक पर्दा उद्धार गर्न यो विधिबाट सकिने छ ।’
मन्त्रालयका अधिकारीहरूका अनुसार यो प्रणाली लागू भएमा अध्यागमनमा आउनेबित्तिकै पर्यटकले सरकारले बनाएको एपमा जोडिनुपर्ने हुन्छ ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस