aarthiknews.com बुधबार, २२ जेठ २०८२   Wednesday, 04 June, 2025
 

प्रभावकारी भएन यातायातको प्रदूषण मापनयन्त्र

  • रासस
    रासस
  • शनिबार, २१ भदौ २०७६
प्रभावकारी भएन यातायातको प्रदूषण मापनयन्त्र

दाङ । दाङस्थित यातायात व्यवस्था कार्यालयमा रहेको सवारी प्रदूषण मापनयन्त्र प्रभावकारी रुपमा प्रयोग हुनसकेको छैन । गएको वर्ष भदौमा कार्यालयमा उक्त यन्त्र भित्र्याइएको भएपनि अहिलेसम्म ७५ वटामात्रै सवारीसाधनको प्रदूषण मापन गरिएको यातायात कार्यालय दाङका प्रशासन प्रमुख रेश्मीराज अधिकारीले जानकारी दिए । “एक वर्षअघि उक्त यन्त्र भित्र्याइएको हो”, उनले भने, “तर उक्त यन्त्र प्रभावकारी रुपमा प्रयोगमा आउन सकेन, अहिलेसम्म ७५ सवारीसाधनको मात्रै प्रदूषण मापन गरिएको छ ।” 

सवारी धनीले प्रदूषण मापनको महत्व नबुझ्दा पनि यस्तो समस्या देखिएको उनको भनाइ थियो । “प्रायः गाडी काठमाडौँमै प्रदूषण मापन गरेर आउने गरेका छन्”, उनले भने, “यसले गर्दा पनि दाङमा प्रदूषण मापन गर्नेको सङ्ख्यामा कमी आएको हो ।” 

यातायात व्यवस्था कार्यालय दाङले ट्राफिक प्रहरीसँग समन्वय गरी सवारीसाधनको यन्त्र ठीक भएमा हरियो स्टिकर लगाउने व्यवस्था गरेको छ । गाडीको  धुवाँले  वातावरणमा कति असर गरिरहेको छ, भन्ने पत्ता लगाउनका लागि कालो धुँवा मापन गर्ने गरिन्छ । 

पहिले यो सेवाका लागि काठमाडौँ नै जानुपथ्र्यो तर दाङमै यो सुविधा हुँदा पनि प्रभावकारी प्रयोग नदेखिएको उनको भनाइ थियो । गाडीको प्रदूषण मापन यातायात व्यवस्था विभागले अनिवार्य बनाएको छ । हरेक सवारीसाधनको छ÷छ महीनामा प्रदूषण जाँच गराउनु पर्दछ । एक–पटक जाँचेको रु ३५ मात्रै राजश्व लाग्छ । मोटरसाइकलबाहेक सार्वजनिक, निजी सबै सवारीसाधनको अनिवार्य प्रदूषण मापन गरिन्छ ।

प्रतिक्रिया दिनुहोस