काठमाडौँ। यदि भक्तपुर नभएर त्यो सडक काठमाडौँको हुन्थ्यो भने शायद उनी त्यहाँ भेटिन्न थिइन्। न त उनी जसरी अहिले दुई छाक खाइरहेकी छिन् त्यो अवस्था नै हुन्थ्यो। काठमाडौँ महानगरपालिकामा नयाँ मेयरका रूपमा बालेन साह आएपछि जसरी सडक पेटीमा व्यापार गर्दै आएका निम्न वर्गीय ठुलो समुदायको बिल्लिबाठ भयो त्यस्तो हुनबाट जोगिएकी छिन्, शर्मिला खत्री।
शर्मिलाको घर दोलखा हो। हाल भक्तपुर बस्छिन्, उनी। भक्तपुरको जगातीमा मेनरोड कै पेटीमा बसेर एउटा ठेलामा कपडा बेच्दै गरेकी भेटिइन्, ३० वर्षीय यी महिला । श्रीमान् को कमाई खाएर बस्छन् उनीजस्तै धेरै महिलाहरू। तर, शर्मिलालाई त्यसो गर्न मन लागेन। उनी भन्छिन्, 'श्रीमान् को कमाई ठिकै छ। व्यापार चलिरहेको छ। तर, म किन उहाँ कै भरमा बस्ने ? केही कमाई भयो भने त्यसले सहयोग नै पुग्छ भनेर मैले ठेलामा कपडा बेचेको हो।'
उनले गरेको दिन रातको मेहनतले घर खर्च धानेको छ। दैनिक घर व्यवहार उनकै कमाइले चल्छ। परिवारमा श्रीमान् र ६ वर्षीय छोरा छन् । श्रीमान् को भक्तपुर कै कमल विनायकमा कपडा पसल नै छ। छोरा अहिले एल.के.जी मा पढ्दै छन्। उनी बिहान ६ बजे देखि नै ठेला पसल थाप्छिन्। साँझ ६ बजेसम्म उनको पसल चल्छ। उनले व्यापार गर्न थालेको ५ वर्ष भयो।
पसलको आकार र लगानीको तुलनामा कमाई मनग्गे छ, खत्रीको। उनी दिनमा सरदार ७ हजार जतिको व्यापार गर्छिन्। नाफा राम्रै बस्छ। तर, कहिलेकाहीँ भने दिक्क लाग्छ अनेक थरी ग्राहकका कारण। उनी भन्छिन्, 'कमाइ त ठिकै हुन्छ तर पसलमा विभिन्न खालका मान्छे आउँछन् र दिक्क लाउँछन् कहिलेकाहीँ।' उनको अनुभव रमाइलो छ। भन्छिन्, 'कोही राम्रोसँग बोल्छन्। समान पनि किन्छन्। कोहि भने सबै समान खलबल पार्दिन्छन् र लास्टमा केही पनि किन्दैनन्।' उनले साना बच्चा देखि सबै उमेर समूहका महिला/पुरुष सबैले लगाउने कपडा बेच्न राखेकी छिन्। उनले बेच्ने कपडाहरू महाबौद्ध र भोटेबाहलबाट किन्ने गर्छिन् ।
काठमाडौँ महानगरपालिकाले त्यहाँका सडक पेटीमा सानोतिनो व्यापार गरेर गुजारा चलाइरहेकाहरूको बिल्लिबाठ पारेको उनले पनि सुनेकी छिन्। सामाजिक सञ्जालमा ती गरिबको रोदन र व्यथा हेरेकी छिन्। तर, भक्तपुरमा त्यो समस्या छैन अहिलेसम्म उनीहरूले भोगेको। सामान्यतया नगर प्रहरी आउने, एक छिन धपाउने र फेरी दिनचर्या उस्तै ढङ्गले चल्ने कुरालाई उनीहरूले मज्जा कै रूपमा लिने गरेका छन्। भगवानप्रति उनी कृतज्ञ छिन्, 'धन्न भगवान् हाम्रा मेयर बालेन जस्ता छैनन्। नत्र के हुन्थ्यो होला हाम्रो हालत !'
प्रतिक्रिया दिनुहोस