aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

अन्तत: एमाले–माओवादी सम्बन्ध टिकेन, कांग्रेसको राष्ट्रपतिसहित आलोपालो सरकार

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • शनिबार, १३ फागुन २०७९
अन्तत: एमाले–माओवादी सम्बन्ध टिकेन, कांग्रेसको राष्ट्रपतिसहित आलोपालो सरकार

काठमाडौं । राष्ट्रपति निर्वाचनको सँघारमा देशको राजनीतिक कोर्स बदलिएको छ । नेपाली कांग्रेसलाई राष्ट्रपति दिन नेकपा माओवादी केन्द्र तयार भएसँगै प्रतिनिधिसभा निर्वाचनपछि १० पुसमा बनेको एमाले नेतृत्वको सत्ता गठबन्धन शुक्रबारबाट औपचारिक रूपमा भत्किएको हो । अब कांग्रेस नेतृत्वकै नयाँ गठबन्धन बन्ने भएको छ ।

विगत दुई सातायता कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपासहितका दलहरू राष्ट्रपति पदका लागि एमालेइतरको व्यक्तिको खोजीमा थिए । त्यसअघि नै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको खोजी भइरहेको बताउँदै आइरहेका थिए ।

तर, बिहीबार र शुक्रबार बिहानबाटै भइरहेका संवादबाट माओवादी केन्द्र राष्ट्रपति पद कांग्रेसलाई दिन तयार भएपछि एमाले–माओवादीसहितका दलको गठबन्धन भत्किएको हो । शुक्रबार बिहान १० पुसअघिको पुरानै गठबन्धन ब्युँताएर कांग्रेसलाई राष्ट्रपति दिन त्यसबखत गठबन्धनमा सामेल दल सहमत भएका हुन् ।

यसैबीच एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीचमा शुक्रबार दिउँसो नै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको थियो । सो भेटका क्रममासमेत प्रचण्डले राष्ट्रपतिमा सहमतिको अडान लिएपछि एमाले अध्यक्ष ओली निराश हुँदै बालुवाटारबाट बाहिरिएका थिए । त्यसपछि पुनः १० पुसअघिको कांग्रेस नेतृत्वको गठबन्धनको बैठक बालुवाटारमा नै बसेको थियो ।

सो बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेसलाई राष्ट्रपति दिन तयार भएको सुनाएका थिए ।

‘बिहीबार र शुक्रबार बिहान साँझ गरी घनीभूत छलफल भयो, राष्ट्रपति कांग्रेसलाई दिएर केन्द्र र प्रदेशको सरकारमा समझदारी गर्नेगरी एउटा तहमा सहमति भएको छ,’ कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले भने ।

प्रतिक्रिया दिनुहोस