aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

वन्यजन्तुको डरले सुनसान बन्यो बस्ती, मानिसको लाग्यो उठिबास

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • शनिबार, १३ फागुन २०७९
वन्यजन्तुको डरले सुनसान बन्यो बस्ती, मानिसको लाग्यो उठिबास

काठमाडौं । धनकुटाको छथर जोरपाटी गाउँपालिका–३, सिबुवा गाउँमा केही वर्षअघि १३ घरपरिवारको बसोबास थियो तर उनीहरू सडक, खानेपानीलगायतका सुविधा नहुँदा समस्याबाट गुज्रिइरहेका थिए ।

सडक बिजुलीलगायत विकासका पूर्वाधार क्रमशः बन्दै गएकाले  पछिल्लो समय सबै कुरा सहज हुँदै गएको थियो । पूर्वाधारको विकास भए पनि गाउँमा स्थानीयवासी अडिन सकेनन् । स्थानीयवासीले गाउँ छाड्नुको मुख्य कारण बन्यो खानेपानीको समस्या र जङ्गली जनावरको आतङ्क । 

बाँदर, बँदेललगायतका जङ्गली जनावरको आतङ्कका कारण खेतबारीमा बाली उब्जाउनै नसकेपछि स्थानीय बसाइँ सर्न बाध्य भएका हुन् । स्थानीय नेत्र थापाले भने, “गाउँमा १३ घर थियौँ, सडक, बिजुलीलगायतका पूर्वाधार त थिए तर पानीको समस्या थियो । त्यसमाथि बाँदरलगायतका जङ्गली जनावरले दुःख दिन थालेपछि गाउँ छाड्न सबै बाध्य भए । अब तीन घर मात्र बाँकी रहेका छौँ ।” 

बाँदर, बँदेललगायतका जङ्गली जनावरको आतङ्कका कारण खेतबारीमा बाली उब्जाउनै नसकेपछि स्थानीयवासी बसाइँ सर्न बाध्य भएका हुन् ।
धनकुटा नगरपालिका–९, माहाङमा करिब ५० परिवारको बसोबास छ । सबैको आर्थिक उपार्जनको माध्यम कृषि हो तर माहाङमा अहिले आधाभन्दा बढी जमिन बाँझो छ । यहाँको समस्या पनि जङ्गली जनावरको आतङ्क नै हो । बाली सखाप पारेपछि घर वरिपरिबाहेक अन्य क्षेत्रमा खेती गर्न छाडेको स्थानीय रविन घिमिरेले बताए ।

उनले भने, “बसाइँ सरेर जान सक्ने अवस्था भएका गए तर अवस्था नै नभएका भने गाउँमा बसेका छन् तर पहिले गरेको खेतीको क्षेत्र घटाएका छन् ।” जङ्गलसँगै जोडिएका बस्तीमा वन्यजन्तुले बर्सेनि सताउँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस