
काठमाडौं । नेपाली कांग्रेसले पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । अहिले बिहान बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस नेता रामचन्द्र पौडेलको नाम राष्ट्रपति उम्मेदवारमा प्रस्ताव गरेका थिए । बैठकले पौडेलको नाममा निर्णय गरेको बुझिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आठ दलको बैठकमा कांग्रेसलाई राष्ट्रपति पद दिने प्रस्ताव गरेको र उपस्थित आठ दलका शीर्ष नेताले समर्थन जनाएकाले पौडेल आठ दलका साझा उम्मेदवार बनेका छन् ।
यसअघि शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदमा प्रतिनिधित्व गर्ने आठ दलको बैठकले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई सघाउने निर्णय गरेका थियो । आठ दलको सहमति पाएर राष्ट्रपति जित्ने सुनिश्चित भएपछि कांग्रेसले पौडेललाई उम्मेदवार छानेको हो ।
पौडेललाई राष्ट्रपति बनाउन कांग्रेससहित, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चाको समर्थन हुनेछ ।
प्रतिक्रिया दिनुहोस