aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

कृषि औजार कारखाना चलाउन महावीर पुनले जग्गा बेच्ने, २८ रोपनी किनिदिन गरे सार्वजनिक अपिल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १३ फागुन २०७९
कृषि औजार कारखाना चलाउन महावीर पुनले जग्गा बेच्ने, २८ रोपनी किनिदिन गरे सार्वजनिक अपिल

काठमाडौँ। राष्ट्रिय आविष्कार केन्द्रलाई ६ वर्ष अगाडी आफैले दान दिएको जग्गा महावीर पुनले बिक्रीमा राखेका छन्। केन्द्रलाई ठुलो रकम आवश्यक परेको कारण देखाउँदै उनले फेसबुक मार्फत त्यो जग्गा बिक्री गर्ने घोषणा गरेका हुन्। 

उनले २०७३ साल साउनमा फेसबुकमा स्ट्याटस लेखेर नै त्यो जग्गा केन्द्रलाई दान दिएको घोषणा गरेका थिए। पोखराको बेगनास ताल नजिकै ठूलाकोट डाँडामा रहेको २८ रोपनी जग्गा बिक्री गर्ने उनले फेसबुकमार्फत शनिवार घोषणा गरेका हुन् । 

उनले लेखेका छन्, 'पोखरा नजिक को २८ रोपनी जग्गा बिक्रीमा छ ! इच्छा र पैसा हुनेले किन्नु होस् !! यो जग्गा बेचेर आएको पैसा वीरगन्जको कृषि औजार कारखानामा र यो वर्ष गण्डकी प्रदेशमा गर्ने भनिएको कामहरूमा प्रयोग हुनेछ । जसरी भए पनि नबेची नछाड्ने हो।'

उनका अनुसार त्यो जग्गा आवास देखी व्यवशायिक प्रयोजनका लागि समेत उपयुक्त छ। जग्गाको लालपुर्जाको अंश समेत राखेर अवस्थित बारे उनले लेखेका छन्, 'यदि तपाईँहरूले डाँडाको टुप्पोमा होटेल रिसोर्ट खोल्न वा आश्रम बनाउन वा ध्यान केन्द्र बनाउन वा मनोरञ्जन पार्क बनाउन वा शान्त ठाउँमा प्राइभेट घर बनाएर जिन्दगी बिताउनको लागी जग्गा खोज्नु भएको छ भने तल फोटोमा देखाइएको २८ रोपनी जग्गा बिक्रीमा छ ।' 

सो जग्गा बिक्री गर्दा आएको रकम आविष्कार केन्द्रलाई नै जाने स्पष्ट पार्दै उनले अगाडी लेखेका छन्, 'यो जग्गा मेरो नाममा छ तर पाँच वर्ष अगाडी नै मैले राष्ट्रिय आविष्कार केन्द्रलाई दिएको हो । यसको पैसा आविष्कार केन्द्रलाई जान्छ ।' 

पुनले उल्लेख गरे अनुसार सो जग्गाको मूल्य लगभग १४ करोडको हुने देखिन्छ।  मूल्यबारे उनको भनाई छ, 'जग्गाको मूल्य त्यो क्षेत्रमा चलेको दर भाउ हुनेछ । मैले सुने अनुसार त्यो क्षत्रमा मोटामोटी एक रोपनीको  ३० देखि ५० लाख रुपैंया जति छ रे । त्यो जग्गाबाट पोखराको अन्तर्राष्ट्रिय विमानस्थल, बेगनास ताल, हिमाल, फेवाताल देखिन्छ । यो जग्गा भएको ठाउँको नाम ठुलाकोट हो । जग्गा सम्म पिच बाटो गएको छ र बिजुली छ । ' उनले जग्गाको गुगल म्याप कोर्डीनेट २८.२११८१४°,  ८४.०८४२४७° रहेको जनाएका छन्। 

आफ्नो घोषणामा उनले आफ्नो प्रस्तावलाई हल्का रूपमा मनोरञ्जनको विषय नबनाउन अनुरोध समेत गरेका छन्। उनले नोटमा लेखेका छन् : 'जति सक्दो छिटो यो जग्गा बेच्नु पर्छ ।  कुरा एकदमै गम्भीर छ ।  कसैले पनि होच्याएर र हावा कुरा गरेर खिल्ली नउडाउनु होला र ख्याल ठट्टा नगर्नु होला । साँच्चि कै किन्ने ले मात्र मलाई ९८४१५९२३६१ मा फोन गर्नु होला ।'

तर, उनको अनुरोधलाई बेवास्ता गर्दै जिस्काउने र खिल्ली उडाउने समेत प्रशस्तै देखिएका छन्। जसलाई पुनले त्यस्तै शैलीमा गाली गरिरहेका छन्। 

राष्ट्रिय आविष्कार केन्द्रका लागि रकम जुटाइरहेका समाजसेवी महावीर पुनले आफ्नो निजी जग्गा दान गर्ने घोषणा ६ वर्ष अघि नै गरेका थिए। सो जग्गा पर्वत बन्बरेका पदम राईसँग मिलेर २० वर्षअघि किनेको सो जग्गाको मूल्य त्यस बेला तीन करोड रुपैयाँ रहेको उनको भनाई थियो। अहिले त्यसको मूल्य १४ करोडको हाराहारीमा हुने देखिएको छ। 

उनले त्यो बेला जग्गा किन्ने बेलामा नै भविष्यमा समुदायहरूलाई फाइदा हुने कामको लागि प्रयोग गर्ने भनेर किनेको बताएका थिए। सोहीअनुसार दान गरेको महावीरले त्यही बेला बताएका थिए ।

पैसाको आवश्यक परेमा सो जग्गा बिक्री गर्ने वा त्यहाँ अनुसन्धानको लागि भौतिक संरचना बनाइने पुनको ६ वर्ष अघिको घोषणा अनुसार अहिले जग्गा बिक्रीमा राखिएको छ। कतिपयले त्यो नबेच्न समेत उनलाई फेसबुक मार्फत नै सल्लाह दिएका छन्। आफ्नो नाममा भौतिक सम्पत्तिका रूपमा रहेको सबै जग्गा उनले दाङ गर्दै देश विकासको लागि आफ्नो बाँकी सम्पूर्ण जीवन लगाउने यसअघि नै घोषणा गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस