aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

प्रचण्डको राजनीतिक भविष्य दाउमा गयो, यसकारण तोडियो एमालेसँगको गठबन्धन

  • आजको नागरिक दैनिकबाट
    आजको नागरिक दैनिकबाट
  • आइतबार, १४ फागुन २०७९
प्रचण्डको राजनीतिक भविष्य दाउमा गयो, यसकारण तोडियो एमालेसँगको गठबन्धन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो राजनीतिक भविष्यलाई दाउमा राखेर नेपाली कांग्रेसबाट प्रस्तावित उम्मेदवारलाई राष्ट्रपति बनाउने सक्रियता देखाएका छन्। फेरि एकपटक दाहालले मुलुकको राजनीतिको ‘किङमेकर’ का रूपमा आफूलाई स्थापित गरेका छन्।

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दाहाललाई गत पुस १० गते प्रधानमन्त्री बनाएपछि तत्कालीन सत्ता गठबन्धन टुंगिएको थियो। तत्कालीन अवस्थामा कांग्रेस सत्ता राजनीतिक अभ्यासमा एकाएक शून्यमा झरेको महसुस भयो। भुइँको उठाउन खोज्दा पोल्टाको पनि पोखिएको स्थितिमा कांग्रेस सभापति शेरबहादुर देउवा पुगेका थिए।

प्रधानमन्त्री बनाउने पूर्वप्रतिबद्धताबाट देउवा हटेका कारण दाहाल ओली शिविरमा पुगेका थिए। देउवाले दाहाललाई प्रधानमन्त्री बनाउन नसकेका कारण मात्र उनले बालकोटको कौसीबाट ओलीसँगै हात हल्लाउनुपर्ने अवस्था आएको थियो। दाहाल प्रधानमन्त्री नियुक्ति भए पनि मन भने ओलीतिर थिएन। कुनै गठबन्धनमा बस्न र त्यसबाट सरकार चलाउन सहज नभएसम्म त्यो टाढा जाँदैन। वास्तवमा ओलीसँगको दाहालको गठबन्धन ‘म्यारेज अफ कन्भिनियन्स’ अर्थात् त्यो सत्ता प्राप्तिका निम्ति मात्र थियो, हार्दिकता थिएन।

प्रधानमन्त्री बनेको २० दिनपछि सम्पादकहरूसँगको बालुवाटार छलफलमा दाहालको देउवा प्रेम प्रष्ट देखिन्थ्यो। एक, कांग्रेसले दाहाललाई विश्वासको मत दिइसकेको थियो। दुई, उनलाई काममा सहज हुनुपर्ने वातावरण पनि आवश्यक थियो। दाहालले त्यो दिन आफूलाई कांग्रेसले पनि विश्वासको मत दिइसकेको हुनाले ‘राष्ट्रिय सहमति’ भएको र त्यसअनुरूप आफूले व्यवहार गर्नुपर्ने आफ्नो दायित्व भएको बताएका थिए।

दाहालले राष्ट्रपति निर्वाचन गर्दा राष्ट्रिय सहमति हुनुपर्ने बताएका थिए। उनी एउटा कुरामा प्रष्ट थिए, त्यो के भने देउवा उनलाई प्रधानमन्त्री बनाउन तयार हुँदाहुँदै पनि केही पक्षबाट जालझेल भएको थियो। त्यही भएर उनले सम्पादकहरूसँग अनायासै भनेका थिए, ‘मलाई देउवाजीको माया लाग्छ।’

प्रधानमन्त्रीको कुर्सी ओलीले दिए पनि त्यसको स्थायित्वका निम्ति देउवा आवश्यक छन् भन्ने दाहालले बुझेका हुन्। राजनीतिक सुझबुझ नहुने हो भने २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा ३२ स्थान मात्र ल्याएको दाहालको नेकपा ९माओवादी केन्द्र० ले प्रधानमन्त्री प्राप्त गर्ने अवस्था हुँदैनथ्यो। दाहालले आफू प्रधानमन्त्री भए पनि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख लगायतका पदमा कुनै सहमति नभएको बताएका थिए।

सभामुख नेकपा ९एमाले०का देवराज घिमिरे र उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगरले प्राप्त गरे पनि राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनले ६१ दिनमै सत्ता समीकरण फेरिएको छ। गत मंसिर ४ को निर्वाचनले राष्ट्रिय राजनीतिमा नयाँ दलको उपस्थिति भए पनि यसलाई रिङ्याउँने भूमिकामा भने प्रधानमन्त्री दाहाल र केही पूर्वप्रधानमन्त्रीहरू नै देखिएका छन्। देउवाले आफूबाट बिग्रिएको राजनीतिलाई राष्ट्रपति निर्वाचनमार्फत फेरि सोझ्याएका छन्। अन्यथा, आगामी पाँचै वर्ष कांग्रेस सत्ता राजनीतिबाट बाहिर पर्न सक्ने थियो। ओलीले केन्द्रदेखि प्रदेशसम्म एकछत्र आफ्नो भूमिका देखाउन थालिसकेका हुन्। धेरै नबोली राजनीतिक बाटो बदल्न सक्नेमा देउवा देखिएका छन्।

दाहालका निम्ति ओलीले निर्माण गरेको गठबन्धन धेरै हिसाबले असजिलो रहेको हो। एक, ओली आफैँ उच्चस्तरीय संयन्त्रको नेतृत्वमा बसेर सरकार चलाउन तयार थिए। दुई, दाहालका निम्ति ओलीले तयार पारिदिएको गठबन्धन भएका कारण यसका प्रमुख पात्रहरू उनलाई सोधेर मात्र चल्न थालिसकेका थिए। सरकार गठनको सुरुका दिनमा केही मन्त्रीहरू ओलीको मन्त्रणा लिएर मात्र मन्त्रिपरिषद् बैठकमा जाने गरेका थिए। दाहालसँग मन्त्रिपरिषद्मा तिनले विरोध प्रकट गर्नसमेत थालिसकेका थिए।

प्रतिक्रिया दिनुहोस