
काठमाडौं । मध्य अवधिमा भारत विश्वको सबैभन्दा महत्त्वपूर्ण देश बन्ने तरखरमा छ। निकट भविष्यमै विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देश भारत बन्दैछ। भारतको प्रतिव्यक्ति आय चीनको भन्दा एक चौथाइ रहे पनि यसको अर्थतन्त्रको विकासको संभावना प्रचुर छ। यसैगरी भारतको सैनिकी तथा भूराजनीतिक महत्त्व बढ्दो क्रममा छ। चलायमान प्रजातन्त्र, सांस्कृतिक विविधताका कारणले अमेरिका र बेलायतसँग रहेको सफ्ट पावरसँग भारत प्रतिस्पर्धा गर्न सक्ने बनेको छ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई देशलाई आधुनिकीकरण गर्न र आर्थिक वृद्धिका लागि उपयुक्त नीति अख्तियार गरेको श्रेय जान्छ। विशेष गरेर मोदीले एकल बजारका लागि डिमोनिटाइजेसन, कर सुधार तथा सडक, बिजुली, शिक्षा, सरसफाइ तथा डिजिटल क्षमता जस्ता भौतिक पूर्वाधार निर्माणका क्षेत्रमा ठूलो लगानी गरेका छन्। यी नीतिहरू सँगसँगै उत्पादन बढाउन सहयोग पुग्ने औद्योगिक नीति अवलम्बन गरेर प्रविधि र आइटीको विकासलाई अगाडि बढाएका छन्। यसैगरी कोभिड–१९ ले अर्थतन्त्रलाई कमजोर पारे पनि डिजिटल प्रविधिमा आधारित लोककल्याणकारी प्रणाली स्थापना गरेर उनले बलियो आर्थिक प्रगति गरेका छन्।
तर त्यसो हुँदाहुँदै पनि जुन मोडलले भारतको आर्थिक वृद्धिलाई सहज पारेको थियो त्यही मोडलले यसलाई बाधा पनि उत्पन्न गरेको छ। भारतको विकास संभावनाको जोखिम मेक्रो र साइक्लिकलभन्दा बढी माइक्रो र संरचनागत तहमा छ।
सबैभन्दा पहिलो भनेको भारतले ठूला निजी कम्पनीको प्रभुत्वलाई प्रभावकारी पार्ने र ती कम्पनीले अर्थतन्त्रको ठूलो हिस्सा नियन्त्रण गर्न सक्ने नीतिलाई प्रश्रय दिएको छ। यही मोडल सन् १९६७ देखि १९९८ सम्म सुहार्ताको नेतृत्वमा इन्डोनेसिया, सन् २००२ देखि सन् २०१२ सम्म हु जिन्ताओको नेतृत्वमा चीनले र सन् १९९० ताका दक्षिण कोरियाले अख्तियार गरेका थिए।
केही हिसाबले आर्थिक शक्तिको केन्द्रीकरण हुँदा भारतलाई फाइदा नै भएको देखिन्छ। उच्चस्तरको वित्तीय व्यवस्थापनका कारण चीनको भन्दा न्यून लगानी दर रहे पनि भारतले अर्थतन्त्रको तीव्र विकास हासिल गर्न सकेको छ। यही कारणले भारतको लगानी धेरै प्रभावकारी बनेको छ र भारतीय कम्पनीको उत्पादकत्व र प्रतिस्पर्धी क्षमता अन्तराष्ट्रिय स्तरको छ।
प्रतिक्रिया दिनुहोस