aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

क्या काइदाको काम: पुतली र फूलसँग खेल्ने महिनाको ५० हजार राख्ने

  • इश्वरी थापा
    इश्वरी थापा
  • सोमबार, १५ फागुन २०७९
क्या काइदाको काम: पुतली र फूलसँग खेल्ने महिनाको ५० हजार राख्ने

काठमाडौँ। दिनभर फूलसँग खेल्ने, पुतली उडेको हेर्ने, मौरी भुनभुनाएको साङ्गीतिक आवाज सुन्ने काम। तर, कमाई भने महिना कै ५० हजार माथि। बेरोजगारीले पिरोलिएका जो कोहीलाई लाग्न सक्छ, "त्यस्तो काम पाए को गर्दैन !" तर, मन लागेर मात्र हुँदैन। थोरै धन र धेरै तन लगाउने हो भने यस्तो काम र कमाई सहजै हुने रहेछ। 

यसको उदाहरण बनेकी छिन्, उषा खड्का। बानेश्वर १० मा रहेको 'नेचर फ्लाई नर्सरी’ को सञ्चालक हुन् उनी। बाहिरबाट हेर्दा नै निकै आकर्षित देखिन्छ, उनको नर्सरी। जम्मा १ रोपनी जग्गामा फैलिएको छ, यो। जसमा विभिन्न प्रकारका फल र फुलका बिरुवाहरू पाइन्छन् । 

चार वर्ष अघि उनले सुरु गरेको हो यो, नर्सरी। जम्मा २० लाख रुपैयाँ लगानी गरिसकेकी छिन् उषाले। जसको प्रतिफल राम्रो छ। उनी सन्तुष्ट छिन्, काम र कमाई दुबैमा। भन्छिन्, 'म सन्तुष्ट छु। कमाई राम्रो छ। काम गाह्रो छैन। रमाइलो हुन्छ फूल र पुतलीसँग दिन बिताउँदा।'

यो नर्सरीबाट महिनामा ५० हजार जति आम्दानी हुन्छ। यसबाट भएको आम्दानीले यही व्यापार बढाउँदै लागेकी हुन्। व्यापारको कुरा गर्दा उनी उत्साहित हुँदै भन्छिन् , 'एकै ठाउँमा चार वर्ष देखि छु। व्यापारमा लगानी बढाई रहेको छु। आम्दानी राम्रो भएर नै त यही व्यापार गर्दैछु। लगानी बढाउँदै छु।' त्यसो त यस्तो काममा रुचिको पनि ठुलो महत्त्व हुन्छ। उनलाई बोटबिरुवाहरू एकदमै मन पर्ने भएर यो काम गरेको उनको भनाई छ।   

उनको नर्सरीमा प्राय सबै प्रकारका फलफूलका बिरुवाहरू छन्। फूलहरूमा पिटुनिया, पेन्जी, भ्यागुते फूल, गुलाब, गोदावरी, सयपत्री, क्यामेनिया, इन्डोर प्लान्ट, आउटडोर प्लान्ट, सेनेरीया, कारनेसर, अर्सफिया, एजिलिया, जिस्नीयम, लाहुरे फूल, धुपीका बिरुवाहरू आदि रहेछन् । 

मौसमी फूलहरू र कटिङ गर्ने बिरुवाहरूबाट कम लगानीमा बढी फाइदा लिन सकिने उनको अनुभव छ। मानिसहरूले बढी फलका बिरुवामा सुन्तला, स्याउ, अङ्गुर, अनार, केरा, किवी, अम्बा, एभोकाडो, बदाम, ड्रागन फ्रुट्स, रुद्राक्ष, बोघिचित, म्याकाडमिया नट आदि खोज्ने र किन्ने गर्छन्। फूलहरूमा जिरामी, सदाबहार फूलहरू किन्ने गरेको उनी बताउँछिन् । 

कलमी गरेको बिरुवाबाट छिटो फल पाइन्छ भनेर धेरै जसोले कलमी बिरुवा रोज्ने गरेको उनी बताउँछिन्। सबै भन्दा महँगो बिरुवा विदेशबाट आयात गरेको इन्डोर प्लान्ट ( घरभित्र सजाउने बिरुवा ) उनकोमा छ भने सबै भन्दा सस्तोमा सिजनल फूलहरू रहने गरेका छन्।

उनको नर्सरीमा साँझको समयमा धेरै ग्राहकहरू बिरुवाहरू लिन आउने गर्दछन्।  मानिसहरूले आफ्नो घर सजाउनको लागि बढी फल र फूलका बिरुवामा आकर्षित हुने गरेको उनको ठम्याई छ। 

श्रीमान् र एक छोराको साथमा रहेकी उनले परिवारको हेरचाह र फूलको स्याहार दुवै भ्याएकी छिन्। अहिले ३५ वर्षमा रहेकी उनी शिक्षित महिला हुन्। तर, जागिर भन्दा व्यवसाय नै उत्तम ठानेकी उनले मासिक ३० हजार भाडा तिर्ने सर्तमा जग्गा भाडामा लिएर व्यवसाय सञ्चालन गर्दै आएकी हुन्। 

प्रतिक्रिया दिनुहोस