aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

भैरहवा र पोखरामा वैकल्पिक विमानस्थल तर विमान सँधै भारत डाइभर्ट

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • सोमबार, १५ फागुन २०७९
भैरहवा र पोखरामा वैकल्पिक विमानस्थल तर विमान सँधै भारत डाइभर्ट

काठमाडौं । गत जेठ १ गतेदेखि सञ्चालनमा रहेको भैरहवास्थित गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्दा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले भैरहवा विमानस्थल काठमाडौँ विमानस्थलको विकल्प भएको बताउनुभएको थियो । कारणवश काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेका जहाज भैरहवामा अवतरण हुने उहाँको भनाइ थियो ।

त्यस्तै गत पुस १७ गते उद्घाटन गरिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनका क्रममा पनि उहाँले अब विदेशबाट आएका जहाज सिधै पोखरा विमानस्थलमा अवतरण गर्नसक्ने बताउनुभएको थियो । तर वैकल्पिक विमानस्थलका रूपमा देशभित्रै दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल तयारी अवस्थामा रहे पनि काठमाडौँमा अवतरण हुन नसकेका विमान भने भैरहवा वा पोखरामा अवतरण नभई भारततर्फ ‘डाइभर्ट’ हुँदै आएका छन् ।

विगतमा नेपालमा एउटा मात्रै अन्तर्राष्ट्रिय विमानस्थल हुँदा काठमाडौँमा कुनै अवरोध भए विमानहरू भारतको पटना र लखनउमा अवतरण हुने गरेका भए पनि हाल देशमा तीनवटा विमानस्थल तयारी अवस्थामा रहँदासमेत महानिर्देशक अधिकारीले भनेजस्तो समाधान नभई समस्या ज्युँका त्युँ छ । अहिले पनि जहाज घण्टौँ आकाशमा फन्को लगाएर निरन्तर भारततर्फ डाइभर्ट हुने क्रम रोकिएको छैन ।

आफ्नै दुईवटा वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल हुँदासमेत विमानहरू किन भारत पठाइन्छ भन्ने चासोबीच आइतबार पनि भारतको नयाँ दिल्लीबाट काठमाडौँ आएको भिस्तरा एयरलाइन्स र इन्डिगो एयरको जहाज दिल्ली नै फर्किए ।

खराब मौसमका कारण आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दृश्य क्षमता (भिजिबिलिटी) १२ नट्ससम्म पुग्यो । नेपाली आकाशमा प्रवेश गरिसकेका जहाजले काठमाडौँमा अवतरण (मिस्ड एप्रोच) गर्न नसक्ने भएपछि भिस्तरा र इन्डिगो लखनउ गए भने नेपाल वायुसेवा निगम र कतार एयरवेजको जहाज घण्टौँ मकवानपुर र सिमराको आकासमा फन्को लगाएर काठमाडौँमा अवतरण भए । मौसमको खराबीले आन्तरिकतर्फ पोखराका उडानसमेत दिउँसो २ बजेपछि प्रभावित बनेका थिए ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार काठमाडौँमा वर्षा, चट्याङ, हावाको अनियमित गति र भिजिबिलिटी कम हुँदा उडान प्रभावित भए पनि उक्त समयमा भैरहवामा भने कुनै समस्या थिएन । तर कुनै पनि जहाज त्यहाँ अवतरण नभई लखनउ गए ।  

प्रतिक्रिया दिनुहोस