aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

ट्याटु ग्याङका सदस्यहरू खोरमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ फागुन २०७९
ट्याटु ग्याङका सदस्यहरू खोरमा

एजेन्सी। एल साल्भाडोरका सरकारी अधिकारीहरूले त्यहाँका नागरिक र बाहिरी विश्वलाई प्रमाणित गर्न केही तस्बिरहरू प्रसारित गरिरहेका छन् कि उनीहरूले देशमा अपराधको अन्त्य गरिरहेका छन्। हालै भएका हत्या र हिंसात्मक अपराधका कारण आपतकालिन अवस्थामा सो मुलुक रहेको छ।

राष्ट्रपति नायब बुकेले हालै "अपराध विरुद्ध युद्ध" घोषणा गरेका छन् र गिरोहहरूलाई  'चकित पार्ने' सन्देशयुक्त भिडियो फुटेज सार्वजनिक गरेका छन्। जसमा करिब २ हजार जति सन्दिग्ध गिरोह सदस्यहरूलाई सैन्य रणनीति प्रयोग गरेर नयाँ खोलिएको ठुलो जेलमा राखिएको देखाइएको छ। दसौँ हजार थप सन्दिग्ध अपराधीहरू राउन्ड अप गरिएको छ।

एल साल्भाडोरमा दुई हजार सन्दिग्ध गिरोह सदस्यहरूको पहिलो समूहलाई एक विशाल नयाँ जेलमा सारिएको छ, जुन राष्ट्रपति नायब बुकेलेको अपराध विरुद्धको स्व-घोषित युद्धको केन्द्रबिन्दु हो। हत्या र अन्य हिंसात्मक अपराधमा वृद्धि भएपछि देशमा आपतकालिन अवस्था घोषणा गरी दसौँ हजार सन्दिग्ध गुन्डाहरू पक्राउ परेका छन्।

सार्वजनिक गरिएको तस्बिरमा २ हजार गिरोह सदस्यहरूलाई आतङ्ककारी कैद केन्द्रमा स्थानान्तरण गरिसकेपछि तिनीहरूको कक्षमा लैजान पर्खिरहेको देखिन्छ। रोयटर्सले जनाए अनुसार त्यो नयाँ जेलमा अन्ततः ४० हजार भन्दा बढी मानिसहरूलाई राखिने छ।

तस्बिरहरूमा कैदीहरूको पहिलो ठुलो समूह देखिन्छ जसको शरीरमा ट्याटु कोरिएको छ भने उनीहरू खाली खुट्टा छन्। कारागारका एजेन्टहरूले गिरोहका सदस्यहरूलाई आतङ्ककारी कैद केन्द्रमा स्थानान्तरण गरिसकेपछि तिनीहरूको आगमनमा नियन्त्रण गर्छन्।

कैदीहरूलाई तिनीहरूको कोठरीमा लैजानु अघि तिनीहरूको खौरिएको टाउको पछाडि हातहरू राखेर भुईँमा बसाइएको छ ।

राष्ट्रपति बुकेले ट्विट गर्दै २ हजार व्यक्तिहरूलाई एकल अपरेसनमा सेन्टर फर कन्फिनमेन्ट अफ टेररिज्ममा स्थानान्तरण गरिएको जानकारी दिएका थिए। उनका अनुसार यो अमेरिकाको सबैभन्दा ठुलो जेल हो। "यो तिनीहरूको नयाँ घर हुनेछ, जहाँ तिनीहरू दशकौँसम्म बस्नेछन्, जनसङ्ख्यालाई थप हानि गर्न असमर्थ हुनेछन्।" उनको  ट्विटमा लेखिएको छ। 

राजधानी सान साल्भाडोरबाट ७४ किलोमिटर (४६ माइल) दक्षिण पूर्वमा रहेको टेकोलुकामा रहेको मेगा-जेलमा आठ वटा भवनहरू छन्। प्रत्येकमा एक सय भन्दा बढी कैदीहरूलाई राख्न लगभग १०० वर्ग मिटर (१,०७५ वर्ग फिट) को ३२ कक्षहरू छन्, सरकार भन्छ। तर ती कक्षहरूमा दुई वटा सिङ्क र दुई वटा शौचालय मात्र छन्। राष्ट्रपति बुकेले गत मार्चमा "गिरोह विरुद्धको युद्ध" घोषणा गरेका थिए। आपतकालीन उपायहरू पारित गर्दै गरिएको यस्तो व्यवस्था धेरै पटक विस्तार गरिएको छ।

त्यहाँको आपतकालीन शक्तिहरू विवादास्पद भएका छन् किनभने तिनीहरूले केही संवैधानिक अधिकारहरू सीमित गर्छन्, जस्तै सुरक्षा बलहरूलाई संदिग्धहरूलाई वारेन्ट बिना पक्राउ गर्न अनुमति दिइएको छ। अपराधविरुद्धको अभियानमा ६४ हजारभन्दा बढी सन्दिग्ध पक्राउ परेका छन् ।

अधिकारीहरूले एमएस -१३ र बारियो-१८ जस्ता आपराधिक गिरोहहरू हजारौँको सङ्ख्यामा  हत्या, जबरजस्ती र लागू औषध तस्करीका लागि जिम्मेवार रहेको बताएका छन्। सामूहिक गिरफ्तारीको उद्देश्य गिरोहहरूलाई "पूरै बेपत्ता" बनाउनु हो, सरकार भन्छ।

मानव अधिकार सङ्गठनहरूले तर्क गरेका छन् कि निर्दोष मानिसहरूलाई पनि यो नीतिमा समातिएको छ। र, पक्राउ परेकाहरूमध्ये केहीले "क्रूर, अमानवीय वा अपमानजनक व्यवहार" को सिकार भएको रिपोर्ट गरेका छन्।

प्रतिक्रिया दिनुहोस