बाजुरा । स्वामीकार्तिक खापर गाउँपालिका-३ जुकोटका महेन्द्रबहादुर शाहीको बारीमा १२ सय बोट स्याउ छन्। उनले स्याउखेती गर्न थालेको १५ वर्ष भयो। बारीमा लटरम्म स्याउ फल्छ। बजार नपाउँदा स्याउ खेर गइरहेको छ।
उनले एक रुपैयाँमा तीन दाना दिने गरेका छन्। गाउँपालिकाले भने किलोको १५ रुपैयाँ निर्धारण गरेको छ। उनले भने, ‘बारीमा आएर किलोमा कोही किन्दैनन्। दानाकै हिसाबले बेच्छु।’
लाखौं मूल्यको स्याउ खेर जाने उनले बताए। उनले भने, ‘किन्न कोही आउँदैन। बजार निकै टाढा छ। भरियालाई बोकाएर पुर्याउन सकिँदैन। स्याउ बस्तुभाउलाई कुँडो बनाएर खुवाउनुपरेको छ।’
गाउँपलिकाबाट भारी बोकेर कोल्टी बजारसम्म पुग्न दुई दिन लाग्छ। कोल्ड स्टोर निर्माण र स्याउका अन्य परिकारबारे तालिम पाए केही सहज हुने अर्का किसान अनिल शाही बताउँछन्। यो समाचार आजको अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस