
काठमाडौं । बितेका सात महिनामा सरकारले आर्थिक सहायताका नाममा साढे ५ करोड बाँडेको छ । चालू आर्थिक वर्षको बितेको सात महिना गत साउनदेखि माघ मसान्तसम्ममा सरकारले १ सय ३९ जनालाई ‘व्यक्तिगत’ आर्थिक सहायतास्वरूप कुल ५ करोड ४६ लाख ३४ हजार वितरण गरेको हो ।
सरकारले बाँडेको रकम लिनेमा पूर्वराष्ट्रपति डा. रामवरण यादव, पूर्वप्रधानमन्त्री झलनाथ खनालदेखि भुटानी मानवअधिकारवादी नेता टेकनाथ रिजाललगायत छन् ।
अर्थ मन्त्रालयद्वारा सोमबार सार्वजनिक बितेका ७ महिनाको तथ्यांकअनुसार सरकारले झन्डै साढे ५ करोड बाँडेको छ । गत ३ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार पूर्वराष्ट्रपति डा। रामवरण यादवलाई औषधि उपचार खर्चबापत २५ लाख रुपैयाँ आर्थिक सहायता प्रदान गरिएको छ ।
त्यस्तै, मंसिरमा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई २० लाख रुपैयाँ राहतस्वरूप दिइएको छ । गत ३१ भदौमा तथा ७ असोजको निर्णयअनुसार सो रकम वितरण गरिएको उल्लेख गरिए पनि पूर्वप्रधानमन्त्री खनाललाई ‘कुन प्रयोजनका लागि रकम उपलब्ध गराइएको हो’ भन्ने उल्लेख छैन ।
सोही अवधिमा भुटानी मानवअधिकारवादी नेता टेकनाथ रिजाललाई सरकारले दुई चरण गरी २७ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराएको छ । सबैभन्दा धेरै आर्थिक सहायता लिनेमा उनी नै परेका छन् ।
त्यस्तै, धेरै आर्थिक सहायता लिने दोस्रोमा पूर्वराष्ट्रपति यादव र तेस्रोमा पूर्वप्रधानमन्त्री खनाल छन् । सबैभन्दा कम राहत सहायाता गुरुमा धम्मावतीको औषधि उपचार खर्च भनेर ४६ हजार रुपैयाँ दिइएको छ ।
सार्वजनिक आर्थिक सहायता वितरणको तथ्यांकअनुसार सबैभन्दा बढी रकम भदौमा वितरण गरिएको छ । गत भदौमा मात्रै ३१ जनालाई १ करोड ४१ लाख ७७ हजार वितरण गरिएको छ ।
यसैगरी, साउनमा १९ जनालाई ९५ लाख, असोजमा १ जनालाई २५ लाख र कात्तिकमा ७ जनालाई ४४ लाख वितरण गरिएको छ ।
त्यस्तै, मंसिरमा ५८ जनालाई १ करोड ३० लाख ८४ हजार, पुसमा २१ जनालाई ८८ लाख ७२ हजार र माघमा २ जनालाई २४ लाख ‘आर्थिक सहायत’ शीर्षकमार्फत राज्यकोषको रकम वितरण गरिएको अर्थ मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
सो अवधिमा विभिन्न शीर्षकमा गरी २१ अर्ब २० करोड ६५ लाख निकासा गरिएको छ । जसमध्ये ‘विविध’ शीर्षकमा सवा २१ करोड निकासा दिइएको छ ।
प्रतिक्रिया दिनुहोस