aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

आहा ! यस्तो पो जेल, तास खेल्दै मदिरामा लट्ठ कैदीबन्दी

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • मंगलबार, १६ फागुन २०७९
आहा ! यस्तो पो जेल, तास खेल्दै मदिरामा लट्ठ कैदीबन्दी

काठमाडौं । क्षमताभन्दा बढी कैदी राख्नेदेखि खानेपानी, शौचालय, स्वास्थ्यलगायत आधारभूत आवश्यकतामा देशभरका जेलको अवस्था नाजुक रहेको गुनासो आइरहँदा यहाँका कैदी–बन्दी भने इलाम कारागारलाई ‘सुधार गृह’का रूपमा रहेको बताउने गर्दथे ।

थप अपराधमा संलग्न नहुन र गरेको अपराधबाट सुधार्न कुनै पनि मुद्दामा दोषी ठहर भएका अथवा विचाराधीन मुद्दामा पुर्पक्षमा थुनामा कैदी–बन्दीलाई कारागारमा राखिन्छ ।

कारागारभित्र कानुनद्वारा वर्जित कुनै पनि गतिविधि, मदिरा सेवन, जुवातास तथा मोबाइल फोनसमेत प्रयोग गर्न पाइँदैन । तर, इलाम कारागारमा भने कानुनद्वारा वर्जित मदिरा, जुवातास तथा मोबाइल फोन प्रयोग हुने गरेको पाइएको छ ।

कैदीबन्दीले कारागार मदिरा सेवन र तासको अखडा बनाइरहेका छन् । कारागारभित्र निषेधित वस्तु प्रवेश हुनुमा कार्यालय कर्मचारी र सुरक्षाकर्मीको ‘सेटिङ’बिना सम्भव छैन ।

कर्मचारी र सुरक्षाकर्मीकै सेटिङ आशंका

कैदीबन्दी बाहिर निस्कनै पाउँदैनन्, निस्किँदा पनि प्रहरीले हतकडी लगाएर कामको प्रयोजनका लागि लाने गरिन्छ । बाहिरका मान्छेले खानेकुरा कैदीलाई लैजाँदा लगेका सामान सबै हेरेर लैजाने व्यक्तिले चाखेपछि मात्रै प्रवेश गराइन्छ ।

तर, इलाम कारागारमा ‘सेटिङ’बाटै मदिरा भित्रने गरेको पाइएको छ । कैदी–बन्दी मदिरा सेवन, तास र चुरोट प्रयोग गरिरहेको भिडियोसमेत बाहिरिएको छ ।

जिल्ला कारागार इलामका जेलर सुमित मगर सो भिडियो कारागारभित्रकै रहेको स्वीकार गर्छन् । उनका अनुसार सो दृश्य इलाम कारागारकै रहेको र त्यहाँ देखिएका केही कैदी–बन्दी अहिले पनि यहीँ छन् । केही छुटेर र सरुवा भइसकेका छन् ।

‘भिडियो देख्दा आफू पनि अचम्मित परेको’ भन्दै जेलर मगर ‘कहिलेको भिडियो भन्ने प्रस्ट नभएको र आफू पनि भर्खरै आएको’ बताउँछन् । ‘तत्काल कर्मचारी र सुरक्षाका साथीलाई भित्र निरीक्षणका लागि पठाइएको छ,’ उनले भने, ‘कारागारभित्र अनुशासनहीन काम गर्न, कानुनले बन्देज गरिएका वस्तु प्रयोग तथा र बिक्रीवितरण गर्न पाइदैन ।’

प्रतिक्रिया दिनुहोस