
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई सर्वोच्च अदालतले विदेश जान अनुमति दिएको छ। सर्वोच्चले अनुमति दिएसंगै सन्दिप अब विदेश जान पाउने भएका छन्।
तर लामिछाने कहिले युएई जाने भने टुङ्गो लागेको छैन। नागरिक न्युजसँग कुरा गर्दै क्यानका कार्यवाहक सचिव दुर्गराज पाठकले सन्दीप युएई जाने टुङ्गो नलागेको बताएका हुन्।
उनले भने, ‘रजिष्टेशनको लागि पहल गरेका थियौँ। अब आइसिसीले त्यो कुरा कसरी लिएको छ। प्रकृया गत हिसाबमा जानु पर्ने हुन्छ। त्यसैले आइसिसी र टिमसँग छलफलमा छौँ।’
यद्यपि लामिछानेविरुद्धको बलात्कार मुद्दा भने जिल्ला अदालत काठमाडौँमै विचाराधीन छ। उच्च अदालतको आदेश बदर हुनुपर्ने र लामिछानेलाई थुनामा राखेरै बलात्कार मुद्दा अघि बढाउनुपर्ने मागसहित महान्यायाधिवक्ता कायालयले १७ गते सर्वोच्चमा निवेदन दिएको थियो। उक्त निवेदनमा माघ २० गते सर्वोच्चले पाटन उच्च अदालतको फैसलाको मिसिल९कैफियत प्रतिवेदन० झिकाउने आदेश दिएको थियो।
उक्त पुनरावेदनको पेसी फागुन १२ गतेलाई तोकिएको थियो।
गत भदौ ५ गते एक १७ वर्षकी बालिकालाई ललाइफकाई नगरकोट घुम्न लगेको र त्यहाँबाट नियत बस ढिलो गरी राति तिलगंगास्थित एक होटलमा ल्याएर बलात्कार गरेको आरोप उनीमाथि छ। मुद्दामा कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस भएको थियो। थुनछेक बहसपछि जिल्ला न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले लामिछानेलाई ‘मुद्दाको किनारा नलागेसम्म पुर्पक्षका लागि जेल चलान गर्न आदेश’ दिएको थियो।
जिल्ला अदालतको उक्त आदेश ‘बेरीतको भएकाले बदर गरिपाऊँ’ भन्दै लामिछानेले उच्च अदालत पाटनमा निवेदन गरेका थिए। उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले बिहीबार लामिछानेलाई पुर्पक्षका लागि जेल चलान गर्ने जिल्ला अदालत काठमाडौँको आदेश बदर गर्दै २० लाख धरौटीमा र १० वटा सर्तमा मात्रै थुनामुक्त गर्न आदेश दिएको थियो। तर उच्च अदालततको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्चमा पुगेको हो।
प्रतिक्रिया दिनुहोस