aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

राष्ट्रपतिको निर्वाचनमा खसआर्य र जनजातिबीचको प्रतिस्पर्धा हुन लागेको हो ?

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • मंगलबार, १६ फागुन २०७९
राष्ट्रपतिको निर्वाचनमा खसआर्य र जनजातिबीचको प्रतिस्पर्धा हुन लागेको हो ?

काठमाडौं । राष्ट्रपति चयनका लागि फागुन २५ गते हुने निर्वाचनका लागि संसद्मा प्रतिनिधित्व गर्ने आठ दलको तर्फबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दिएका छन् । 

पूर्वसभामुखद्वय पौडेल र नेम्वाङले राष्ट्रपति पदमा उम्मेदवारी दिएपछि राजनीतिक वृत्तमा ‘कति समावेशी’ भन्ने बहस चुलिएको छ । खस–आर्य समुदायका पौडेल र आदिवासी जनजाति समुदायका नेम्वाङ राजनीतिक दलका तर्फबाट उम्मेदवार बनेका हुन् । 

२०६५ साउन ६ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपतिमा डा. रामवरण यादव निर्वाचित भए । उनी नेपाली कांग्रेसका महामन्त्रीको जिम्मेवारीमा रहँदै राष्ट्रपतिको ऐतिहासिक जिम्मेवारीमा पुगेका हुन् । उनका प्रतिस्पर्धी गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंह पनि राजनीतिज्ञ थिए । मधेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रप्रमुखको जिम्मेवारी पूरा गर्नुभएका डा. यादवले गणतन्त्रको आन्दोलनमा लामो क्रियाशील मधेशकै नेता सिंहसँग प्रतिस्पर्धा भएको थियो । 

राष्ट्रपतिको तेस्रो कार्यकालका लागि उम्मेदवार बनेकी कुमारीलक्ष्मी राईले राष्ट्रप्रमुख पदमा अहिलेको प्रतिस्पर्धा पनि राजनीतिज्ञबीच नै रहेको बताइन् । उनले भनिन्, “राष्ट्रपति योग्य मान्छे हुनुपर्छ । जातीय, क्षेत्रीय वा कुनै समुदायविशेषका आधारमा होइन कि योग्य व्यक्तिले पाउने हो । पार्टीको बहुमतले, पार्टीले पत्याएको मान्छे नै राष्ट्रपति हुने हो ।”

उनले जित–हारलाई प्राविधिक पक्षका रूपमा विश्लेषण गरिन् । पूर्वसांसद राईले भनिन्, “मैले निर्वाचन हारेँ । यो प्राविधिक कुरा मात्रै हो । जातीय कुरा पनि होइन । पार्टीको नजरमा राम्रो भए उम्मेदवार हुन पाउने हो । नभए नपाउने हो ।”

दोस्रो र तेस्रो प्रतिस्पर्धा
राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो पहिलो कार्यकालका लागि संविधान जारी भएपछि २०७२ कात्तिकमा राष्ट्रपति निर्वाचित भइन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का तत्कालीन उपाध्यक्ष भण्डारीसँग राष्ट्रपति पदमा नेपाली कांग्रेसका नेता कुलबहादुर गुरुङ र नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य नारायण महर्जनले प्रतिस्पर्धा गरेका थिए । 

त्यसैगरी २०७४ फागुन २९ गते सम्पन्न राष्ट्रपति निर्वाचनमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि निर्वाचित भइन् । उनीसँग पूर्वसांसद एवं लोकतन्त्रवादी नेत्री कुमारीलक्ष्मी राईले कांग्रेसका तर्फबाट प्रतिस्पर्धा गरेकी थिइन् । 

प्रतिक्रिया दिनुहोस