काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद डा. चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा केही संक्रमण देखिएपछि एन्टिबायोटिक्स चलाइएको छ । भारतको मुम्बईस्थित नेसनल बर्न्स सेन्टरमा उपचारारत डा. भण्डारीको स्वास्थ्य सुधार हुँदै गएको र सामान्य संक्रमण देखिएपछि एन्टिबायोटिक्स चलाइएको बताइएको छ ।
फागुन ३ गते काठमाडौंको बुद्धनगरस्थित घरमा खाना पकाउने ग्यास लिक भएर झिल्का निस्किँदा उनी र उनकी आमा हरिकला सख्त घाइते भएका थिए । आमा हरिकलाको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा फागुन ४ गते निधन भएको थियो ।
कीर्तिपुर अस्पतालले हरिकलाको शरीरमा ७० प्रतिशत जलन भएको जनाएको थियो भने डा. चन्द्रकान्तको शरीरमा २५ देखि ३० प्रतिशतसम्म जलन भएको जानकारी दिएको थियो । उनको उपचार नेपालमा सहज हुन नसक्ने अस्पतालले जानकारी गराएपछि उनलाई ४ गते नै भारततर्फ लगिएको थियो ।
चन्द्रकान्तको फागुन १६ गते दुवै हातको केही भाग र औंलाको सल्यक्रिया गरिएको थियो । सल्यक्रियापछि संक्रमण देखिएपछि एन्टिबायोटिक्स चलाइएको चिकित्सकको भनाईलाई उदृत गर्दै उनका आफन्त मीनप्रसाद भण्डारीले जानकारी दिएका छन् । भण्डारीलाई हाल तरल खानेकुरा खुवाउने गरिएको छ ।
प्रतिक्रिया दिनुहोस