aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

भारतको तीन राज्यको चुनावी नतिजा अपडेट, मोदीले साँझ सम्बोधन गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १८ फागुन २०७९
भारतको तीन राज्यको चुनावी नतिजा अपडेट, मोदीले साँझ सम्बोधन गर्ने

एजेन्सी। भारतको त्रिपुरा, नागाल्याण्ड र मेघालय विधान सभा चुनावको मतगणना जारी छ। केही सिटमा नतिजा आई सकेको छ। हालसम्म घोषित नतिजा र अग्रताको आधारमा अहिलेसम्म बाहिर आएको नतिजा अनुसार नागाल्याण्ड र त्रिपुरामा भाजपाको बहुमत निश्चित रहेको देखिन्छ । 

मुख्यमन्त्री कोनराड संगमाको एनपीपी मेघालयमा फेरी सबैभन्दा ठुलो पार्टी बनेको छ। त्यहाँ उनका समर्थकहरूले उत्सव मनाउन थालेका छन् । भाजपा गठबन्धन नागाल्याण्डमा ३७ र त्रिपुरामा ३४ सिटमा अगाडि छ । मेघालयमा एनपीपी २६ सिटमा अगाडि छ ।

त्रिपुरा-नागाल्याण्डमा एक्जिट पोलले बीजेपी गठबन्धनलाई बहुमत दिने भविष्यवाणी गरेको थियो। मेघालयमा त्रिशङ्कु विधान सभाको सम्भावना छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बेलुका ८ बजे भाजपा मुख्यालय गएर ३ राज्यको विधान सभा चुनावको नतिजाबारे सम्बोधन गर्ने तयारी गरेको त्यहाँका सञ्चार माध्यमहरूले जनाएका छन् ।

डिम्मापुरमा जितेर हेकानी जाखलु नागाल्याण्डकी पहिलो महिला विधायक बनेकी छन् । उनी ७ महिना अघि मात्र राजनीतिमा आएकी थिइन्। सन् १९६३ मा नागाल्याण्ड राज्य बनेको थियो त्यहाँ अहिलेसम्म कुनै पनि महिलाले विधान सभा चुनाव जितेका छैनन्। त्रिपुराका मुख्यमन्त्री माणिक साह पश्चिम त्रिपुराबाट विजयी भएका छन् । 

 

प्रतिक्रिया दिनुहोस