aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

अबको ६ दिनमा देशले नयाँ राष्ट्रपति पाउने, पौडेल र नेम्बाङमा को बलियो ?

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • शुक्रबार, १९ फागुन २०७९
अबको ६ दिनमा देशले नयाँ राष्ट्रपति पाउने, पौडेल र नेम्बाङमा को बलियो ?

काठमाडौं । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितको आठ दलीय गठबन्धनका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बनेका रामचन्द्र पौडेलले संघदेखि प्रदेशसम्मका ८ सय ८२ जना सांसदलाई मत माग्दै पत्र पठाएका छन् । अबको ६ दिनपछि अर्थात् २५ फागुनमा नयाँ राष्ट्रपति चुन्न निर्वाचन हुँदै छ ।

पौडेलको प्रतिस्पर्धा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका सुवास नेम्वाङसँग हुनेछ । पौडेलले बिहीबार प्रतिनिधिसभा र राष्ट्रियसभाका ३ सय ३२ तथा प्रदेशसभाका ५ सय ५० सांसदलाई पत्राचार गर्दै राष्ट्रपति पदमा आफूलाई मत दिन आग्रह गरेका हुन् । पौडेलले आफ्नो लेटरप्याडमा सबै सांसदहरूलाई सम्बोधन गरी पत्र लेखेर राष्ट्रपति निर्वाचनका लागि आफ्नो पक्षमा मत मागेको उनका प्रेस सहयोगी खिला कार्कीले जानकारी दिए । 

‘संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका सांसदलाई राष्ट्रपतिका उम्मेदवार पौडेलले पत्राचार गर्नुभएको छ, पत्रमा उहाँले आफूलाई मत दिन सांसदहरूसँग आग्रह गर्नुभएको छ,’ पौडेलका प्रेस सहयोगी कार्कीले राजधानीसँग भने । पत्रमा उनले आफूले नेपालका सबै मानिसको नैसर्गिक अधिकारका लागि संघर्ष गरेको तथा निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध ३० वर्ष संघर्ष गर्दा आधा समय जेलमा बिताएको उल्लेख गरेका छन् ।

पौडेलले सांसदलाई पठाएको पत्रमा सत्तामा हुँदा आफू कहीँकतै नचुकेको पनि जिकिर गरेका छन् । ‘नेपालका सबै मानिसको नैसर्गिक अधिकार स्थापनाका लागि मैले सानै उमेरदेखि संघर्षको बेडा उठाउँदै आएँ, फलतः निर्दलीय निरंकुश सत्तासँग म अलिकति पनि झुकिनँ र पञ्चायतको ३० वर्षे कार्यकालमा त्यसका आधा समय त मैले जेलमै बिताएको हुँ, बहुदलीय व्यवस्थाको पुनरागमनपछिका सत्ताका दिनमा पनि कहीँकतै नचुकिकन देश र जनताको उन्नति, राष्ट्रिय स्वाधीनता र अस्मिताका लागि निष्ठापूर्वक सकेको सेवा गर्दै आएको र आफ्नो छविमा कतै दाग लाग्न नदिने भरमग्दुर कोशिस गर्दै आएको छु,’ आठ दलीय गठबन्धनका तर्फबाट राष्टपतिको उम्मेदवार बनेका पौडेलले सांसदलाई पठाएको पत्रमा भनिएको छ ।

पौडेलले शान्ति वार्ता र संविधान निर्माणका क्रममा जनताको मानवअधिकार, स्वतन्त्रता, दिगो शान्ति, आर्थिक सामाजिक न्याय र समुन्नतिलाई हृदयमा राखेर संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्र संस्थागत गर्ने कुरालाई उद्देश्य बनाउँदै आएको समेत पत्रमा उल्लेख गरेका छन् । 

‘म नेपालको वास्तविकतामा आधारित विकासको नमुना ९मोडेल० अपनाउनुपर्छ भन्ने ठान्छु, बाटो, बिजुली, पानी, शिक्षा, स्वास्थ्य, सञ्चार गाउँगाउँमा पुगिसक्दा पनि त्यहाँबाट बसाइँ सर्ने क्रम नरोकिएको र देशबाटै प्रतिभा र जनशक्तिको पलायन बढ्दै गएको अवस्थामा गाउँगाउँमै रोजगारी र आम्दानीको अवस्था कसरी सिर्जना गर्ने भनेर चिन्तित छु’, उनले भनेका छन्, ‘राजनीतिक विचारधाराको इन्द्रमा अल्मलिन नपरोस् भनेर समाजवादको सार ‘ निमुखालाई न्याय र विपन्नलाई आय’ सबैको साझा सिद्धान्त हुन सक्छ भनेर विनम्र अपिल गर्दछु ।’

प्रतिक्रिया दिनुहोस