aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

जनआन्दोलनका घाइतेलाई राज्य र सहकारी दुवैले ठगे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १९ फागुन २०७९
जनआन्दोलनका घाइतेलाई राज्य र सहकारी दुवैले ठगे

पोखरा । पोखरा महानगरपालिकामा अस्ति बुधबार केही हुल आएर हो हल्ला गरे । रिस्सिँदै आएका उनीहरू महानगरमा आफ्नो समयस्या राखेको पनि महिनौं बितिसकेको रहेछ । लामो समयसम्म पनि केही न्याय नपाएपछि पुनः महानगर घेराउ गर्ने हेतुले महानगर आए । उनीहरूलाई साम्य पार्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बैठक कक्षमा लगेर गुनासो सुने । त्यो भीड थियो पोखरा महानगरपालिका–४ नालामुख मार्ग सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा बचत गर्न आउनेहरूको ।

विगत ६ महिनादेखि उनीहरूले सहकारीबाट रकम निकाल्नै पाएका रहेनछन् । सोही भीडमा थिए वैशाखी टेकेका नेत्रपाणि सुवेदी । उनको ढाड भाँचिएको हो । २०६२÷०६३ सालमा भएको जनआन्दोलनको बेलामा प्रहरीको कुटाइबाट घाइते भएका सुवेदी अहिले वैशाखीको सहायताले हिँड्न बाध्य छन् । कास्कीकोट घर भई हाल पोखरा–६ बस्दै आएका उनले औषधि खाने १२ लाख रुपियाँ सूर्यदर्शन सहकारीमा लगानी गरे । तर, ६ महिनादेखि उनले रकम निकाल्न पाएका छैनन् । ‘सूर्यदर्शन भन्ने सहकारीमा हामीले लगानी गरेका हौं । यो सहकारीले अर्ब होइन खर्ब पैसा खाएको छ । यसमा लगानी र बचत गर्ने बचतकर्ता धेरै छन् । सबैको पैसा खाएको छ’, उनले भने– ‘म जनआन्दोलनमा घाइते भएको व्यक्ति हुँ मैले औषधि खान जम्मा गरेको १२ लाख रुपियाँ यिनीहरूले खाइदिए । मलाई सरकारले हेर्दैन । नेता सबै सामन्त हुन् ।’

उक्त सहकारीमा ९ हजार जति बचत तथा लगानीकर्ता रहेका छन् । उनले सहकारीका सञ्चालक राजनैतिक संरक्षणमा रहेको आरोप समेत लगाए । उक्त सहकारीको सञ्चालक डिबी राई रहेका र रकम माग्न जाँदा तिमीहरूलाई जे पनि गर्न सक्छु भन्दै धम्की दिने गरेको सुवेदीले बताए ।

यस्तै, जीवन बिमा गर्नका लागि रकम जम्मा गर्दै आएकी पोखरा–१ बगरकी एक महिलाले लामो समयदेखि रकम निकाल्न नमिलेको बताइन् । उनले छोराछोरीको जीवन बिमाका लागि सूर्यदर्शनमा रकम बचत गर्दै आएको सुनाइन् । ‘धेरै भयो हामीले पैसा लिन पाएका छैनौं । पहिला त पैसा लिन आउँथे आजकल त आउन पनि छाड्यो’, उनले भनिन्– ‘सञ्चालक भाग्यो भन्छन् । मैले बल्ल थाहा पाएँ । हामी त केही कारणले मिलेन होला भन्ने ठानेका थियौं तर यहाँ कुरा अर्कै रहेछ ।’ राज्य नै संरक्षणमा लागेको उनीहरूको आरोप छ । महानगरलाई यो विषयमा जानकारी गराउँदा प्रक्रियामा रहेको भन्दै लम्ब्याउने काम मात्रै गरेको उनीहरूले सुनाए ।

उनीहरूसँगको छलफलमा मेयर धनराज आचार्यले सञ्चालक समितिको गल्ती रहेको बताए । उनले उक्त सञ्चालक समितिले नागरिकको लगानीलाई अन्यत्र लगानी गरेको कुरा सुन्नामा आएको समेत सुनाए । यस्तै, आचार्यले बचत तथा लगानीकर्तालाई झुक्याउन डमी सञ्चालक समिति बनाउने काम गरेको समेत बताए । ‘सञ्चालक समितिको केही न केही कैफियत पक्कै छ । डमी सञ्चालक समिति बनाउने अनि भाग्ने गर्न खोजेको सुनेको छु । हामीले सूर्यदर्शन सहकारीको नाममा भएको चलअचल सम्पत्ति रोक्का गर्न लगाएका छौं’ –आचार्यले भने । नेपाल समाचारपत्रबाट

प्रतिक्रिया दिनुहोस