aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

चीन-अमेरिका द्वन्द्वले भारतलाई फाइदा, छ्यापछ्याप्ती पाइने भो 'मेड इन इन्डिया' आइफोन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १९ फागुन २०७९
चीन-अमेरिका द्वन्द्वले भारतलाई फाइदा, छ्यापछ्याप्ती पाइने भो 'मेड इन इन्डिया' आइफोन

एजेन्सी। आइफोन उत्पादक अमेरिकी कम्पनी एप्पल इंकको साझेदार फक्सकन टेक्नोलोजी समूहले स्थानीय उत्पादन बढाउन भारतमा नयाँ प्लान्टमा करिब ७० करोड डलर लगानी गर्ने योजना बनाएको छ। ब्लूमबर्गले आफ्नो एक रिपोर्टमा यस्तो खुलासा गरेको हो। 

अमेरिका र चीनबिच बढ्दो तनावका कारण चीनबाट उत्पादन हुने सामग्री भारतमा सारिएको छ ।भूराजनीतिक तनाव र कोरोना महामारीपछि एप्पललगायत अन्य अमेरिकी टेक कम्पनीहरूले चीन बाहिर पनि आफ्नो उत्पादन सुविधा विस्तार गर्ने काम गरिरहेका छन् ।

यो ताइवानी कम्पनीले भारतको बेंगलुरुको एयरपोर्ट वरपर ३ सय एकड जमिनमा प्लान्ट निर्माण गर्ने योजना बनाएको छ। यहाँ कारखानाका पार्टपुर्जा बनाउनुका साथै यसले एप्पलका ह्याण्डसेटहरू पनि एसेम्बल गर्ने योजना रहेको बताइन्छ।  फक्सकनले यो साइटको केही भागलाई नयाँ इलेक्ट्रिक वाहन उत्पादन व्यवसायको लागि पनि प्रयोग गर्न सक्छ।

भारतमा यो प्लान्ट निर्माण भएसँगै करिब १ लाख रोजगारी सृजना हुने अपेक्षा गरिएको छ । चीनको छेन्चुमा रहेको कम्पनीको विशाल आईफोन एसेम्बली कम्प्लेक्समा हाल करिब २ लाख कामदार कार्यरत छन्। तर, यो सङ्ख्या चरम उत्पादन सिजनमा बढ्छ। भारतमा फक्सकनको यो लगानी अहिलेसम्मकै सबैभन्दा ठुलो एकल लगानी हो।

एप्पलले सन् २०१७ मा भारतमा आईफोन एसई मार्फत आईफोन उत्पादन गर्न थालेको थियो। यससँग तीन वटा इलेक्ट्रोनिक्स उत्पादन सेवा (ईएमएस) साझेदारहरू छन् - फक्सकन, विस्ट्रोन र पेगाट्रोन। फक्सकनको प्लान्ट चेन्नई नजिकै श्रीपेरुम्बुदुरमा छ।

हाल अधिकांश आईफोन चीनमा एसेम्बल हुन्छन्। के यो श्रमको कम लागतको कारण हो? इन्भेस्टोपेडीयाको रिपोर्ट अनुसार, एक आईफोन कामदारको औसत तलब १० डलर प्रति घण्टा छ। धेरैकमाउनेहरूले प्रति घण्टा लगभग २७ डलर सम्म कमाउँछन्।

एप्पलका सिइओ टिम कुकका अनुसार चीनमा उत्पादन हुनुको कारण कम श्रम लागत होइन। यदि त्यसो हो भने एप्पलले धेरै सस्तो स्थानहरूमा आफ्ना फोनहरू बनाउन सक्छ। कुकका अनुसार मुख्य कारण टुलिङ इन्जिनियरिङमा आवश्यक सीप हो। उनीहरूको दाबी छ कि विशिष्ट कौशल भएका कामदारहरू  अब अमेरिका मा उपलब्ध छैन तर चीनमा विशेषज्ञता छ।

अमेरिकी कम्पनी एप्पलले उत्पादन गरेका आइफोन/ म्याकबुक/ आइप्याड/ आईवाच आदि चलाउने प्रयोगकर्ताले ख्याल गर्नु भएको होला यसमा डिजाइन्ड बाई एप्पल इन क्यालिफोर्निया, एसेम्बल्ड इन चाइना (Designed by Apple in California Assembled in China) लेखेको हुन्छ। यी समानहरू एप्पल कम्पनीले आफ्नो फ्याक्ट्रीमा बनाउने हैन। यसलाई ताइवानको फक्सकोन (Foxconn) कम्पनीले निर्माण गरिदिन्छ, एप्पलको लागि। त्यो काम उसले ठेक्कामा गर्छ। 

फक्सकोनले चीनमा आफ्नो उत्पादन फ्याक्ट्री चलाएको छ। सो फ्याक्ट्रीमा हालसालै कोभिडको अर्को भेरियन्ट फैलिएर धेरै कामदारले कम्पनी छोडे। मिडिया रिपोर्टहरू अनुसार भागाभाग नै भएछ त्यो कम्पनीभित्र। त्यस लगत्तै एप्पलका पार्ट्सहरुको उत्पादनमा दैनिक उल्लेख्य मात्रामा ह्रास आयो। 

यस्तो अवस्थामा आएको थाहा पाएपछि अमेरिकाबाट एप्पलले ताइवानको फक्सकोनलाई सम्पर्क गरेर समयमा नै आवश्यक मात्रामा उत्पादन सक्न र त्यसको डेलिभरी दिन चेतावनी दियो । अनि ताइवानको फक्सकोनले चीन सरकारलाई त्यस्तै चेतावनी दियो। त्यहाँका कामदारले यति ठुलो सङ्ख्यामा काम छाडेर भागे कि अघिल्लो सालको अन्तमा चीनको फक्सकोन कम्पनीलाई एक लाख जना कामदार चाहियो। अन्ततः चीन सरकारले आफ्ना रिटायर्ड सेनालाई गुहर्यो, तत्काललाई एप्पलका समान बनाउने कामका लागि। किनभने चीन फक्सकोन र एप्पलसँगको व्यावसायिक सम्बन्ध गुमाउन चाहँदैन। 

अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति हुँदै गर्दा उनले संसार कै सर्वाधिक मोबाइल उपकरण निर्माता चिनियाँ कम्पनी हुवावेको मालिककी छोरी क्याथी मेङ्ग (Cathy Meng) लाई क्यानडामा पक्राए। उनलाई प्रिन्सेस अफ हुवावे (Princess of Huawei) पनि भनेर चिनिन्छ। उता चीनले पनि हङकङमा सुपुर्दकी कानुन (extradition law) लागू गरिदियो। यद्यपि यसका अन्य राजनीतिक कारण पनि छन्। यस कानुन अनुसार हङ्गकङ्गमा भएका कुनै पनि विदेशीलाई  चीनले पक्राउ गरेर चीनमा लैजान सक्ने भयो। यसको विरुद्ध हंगकंगमा अनेक आन्दोलन भए। त्यहाँ रहेका धेरै विदेशी कम्पनीले आफ्नो झिटीगुन्टा कस्न थाले। एप्पल कम्पनी पनि हच्कियो। 

परिणामस्वरूप अवस्था बिलकुलै बदलियो। तलको फोटो हेर्नुहोस्, तस्बिरमा देखाइएको आइफोन एक्सआर (XR) मा लेखेको देख्नुहुन्छ: डिजाइन्ड बाई एप्पल इन क्यालिफोर्निया, एसेम्बल्ड इन इन्डिया (Designed by Apple in California, Assembled in India).

हो, यो आइफोन एक्सआर भारतको चेन्नईमा बनेको हो। बनाउने कम्पनी चाहिँ उही हो, फक्सकोन. चीनसँग हच्किएको एप्पल कम्पनीलाई आफूकहाँ तान्न सफल भए भारतीय प्रधानमन्त्री, नरेन्द्र मोदी। 

मोदीले एप्पल, टेस्ला लगायतका ठुलादेखि सानासम्म विदेशी कम्पनीको फ्याक्ट्री भारतमा स्थापना गर्ने एउटा अभियान नै चलाए, 'मेड इन इन्डिया'। यस अन्तर्गत उनले करमा छुट दिए। व्यवसायीलाई जग्गा, कानुनी सहजता लगायतका धेरै योजना अगाडि सारेर विदेशी कम्पनीलाई भारतमा लगानी गर्ने वातावरण बनाउँदै छन्। उनी यो विश्वासका साथ काम गरिरहेका छन् कि विदेशी कम्पनीलाई आफ्नो देशमा लगानी गराउने सवालमा भारतले चाडै नै मलेसिया, भियतनाम र इन्डोनेसियालाई पछाडि पार्नेछ। 

यसबिच तयारी पोसाक बनाउने विश्वका धेरै ब्रान्डले आफ्नो फ्याक्ट्री चीनबाट सारेर बङ्गलादेश पुर्‍याए। आज बङ्गलादेशमा गएर हेर्दा यस्तो लाग्छ "संसारको कपडाको कुन ब्रान्ड बन्दैन यहाँ?" त्यसको लागि बङ्गलादेश सरकारले गर्नुपर्ने सबै काम गर्‍यो। ट्याक्स होलिडे, शत प्रतिशत मुनाफा लैजान पाउने, थोरै (कम्तीमा ७५ हजार डलर) लगानी गरेपछि लगानीकर्तालाई सिधै स्थायी बसोबासको सुविधा दिने, पाँच लाख डलर या माथि लगानी गर्ने विदेशीलाई सिधै त्यहाँको नागरिकता दिने लगायतको अरू धेरै सुविधा दियो।

प्रतिक्रिया दिनुहोस