aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

भोजन गृहले जोगाउँदैछ नेपालीपन

  • आजको नागरिक दैनिकबाट
    आजको नागरिक दैनिकबाट
  • शनिबार, २० फागुन २०७९
भोजन गृहले जोगाउँदैछ नेपालीपन

काठमाडौं । आधुनिकतालाई आत्मसात गरेको सहरमा परम्परागत संरचना र स्वाद हराउँदै गएका छन्। यसो हुदाँहुदै पनि नेपाली शैलीमा बनेका परम्परागत भवन वा घरहरूमा मौलिक खानपान पाउँदा सहरियाहरूका लागि आकर्षण केन्द्र बनेको छ।

यही तथ्यलाई मध्यनजर गरेर राजधानीको मुटु डिल्लीबजारमा सय वर्षभन्दा पुरानो भवनमा मौलिक नेपाली परम्परागत शैलीलाई ध्यानमा राखी भोजन गृह सञ्चालनमा आएको छ। सय वर्षभन्दा अघिको भवन सबलीकरण गरेर नेपाली मौलिकतालाई संरक्षण र प्रवर्धन गर्दै नेपालीपन झल्कने सेवा र संस्कृति पस्कँदै नेपाली खानपानलाई ध्यानमा राखेर भोजन गृह सञ्चालनमा आएको सञ्चालक भरत बस्नेतले बताए।

विगत २५ वर्ष अघिदेखि नै सञ्चालनमा आइरहेको यस भोजनगृह कोरोनाका कारण करिब ३ वर्ष बन्द भएको थियो। गत फेब्रुअरी १५ देखि पुनः सञ्चालनमा आएको यस गृह थप परिष्कृत र मौलिकपनसहित सञ्चालनमा आएको हो। भोजन गृह सञ्चालन गर्दै गर्दा सञ्चालक बस्नेतले स्वदेशी र विदेशी पाहुनालाई ध्यानमा राख्दै पुराना आकृतिका परम्परागत मैलिकता बोकेका संरचनालाई संरक्षण गर्दै प्रयोगमा ल्याएको बताए।

सरकारले १९९८ मा पहिलो पटक नेपाल भ्रमण वर्ष घोषणा गर्दै गर्दा नै उनले भोजन गृहको परिकल्पना गरेका थिए। त्यही बेला नै उनले नेपाली मौलिकपन झल्कने कला, संस्कृति, परम्परा र खानपानलाई एकीकृत रूपमा प्रयोगमा ल्याएर विदेशी र नेपाली पस्किने उनको अठोट थियो। सोही क्रममा उनले नेपालभरिका पुराना आकृतिलाई यथावत् राखी त्यसलाई जिर्णोद्वार गर्ने र नयाँ बनाउँदा पुरानो शैलीमा बनाउनुपर्ने अभियान सुरु गरे। यसै अभियानअन्तर्गत डिल्लीबजारस्थित बडागुरुज्यूको यस भवनलाई उनले सबलीकरण गरेर भोजन गृह प्रयोगमा ल्याएका हुन्।

रेस्टुरेन्टभन्दा पनि अभियानका रूपमा भोजन गृह सञ्चालन गरेको बताउँदै बस्नेतले भोजन गृहले खानपानलाई मात्र नभएर संरचना, सजावट, आकृति र प्रयोग भएका सम्पूर्ण सामग्रीहरूले नेपालीपनको आभास दिने बताए। उनले भने, ‘भोजन गृह केवल रेस्टुरेन्ट मात्र होइन, यो अभियान हो। यसले मौलिक नेपालीपनलाई संरक्षण र प्रबद्र्धन गर्नुपर्छ भन्ने आभास दिन्छ। यस्तै भवनले आफैमा एउटा इतिहास बोकेको छ। सय वर्षभन्दा पुरानो यस भवनको मौलिकतालाई मैले जीवन्त राखेर नेपाली स्वाद पस्किने प्रयास गरेको छु। मैले यस भोजन गृहलाई व्यापारका रूपमा भन्दा पनि सम्पदाका रूपमा चिनाउनु छ।’

श्री ६ बडागुरु (राजाका गुरुजी)को भवनलाई खरिद गरी ३ वर्ष लगाई निमार्ण गरिएको यस भवन बडागुरुजीको पालामा भएकै स्वरूपमा सबलीकरण गरिएको छ। पुरानै स्वरूपमा सबलीकरण गरेको भोजन गृहको भवनको इतिहास, नेपाली मौलिक खानपान र नेपाली उत्पादनका सामग्रीहरूको प्रयोग, मौलिक संरचना, सांस्कृतिक विविधतासहितको सेवा र मनोरञ्जन आदि भोजन गृहको विशेषता हो। यस भोजन गृहमा मौलिक परम्परागत नेपाली खानाहरू उपलब्ध छ। जसमा मकै, भटमास, आलुदम, क्वाँटी, दाल, भात, तरकारी, ममलगायत विभिन्न नेपाली परिकार रहेका छन्। नेपाली खानपान संसार उत्कृष्टमध्ये एक भएको भन्दै उनले भने, ‘हाम्रा नेपाली खानाहरू उच्चकोटिको पोषणयुक्त र वैज्ञानिक छन्। सोहीअनुरूप हामीले भोजनगृहमा नेपाली स्वाद राखेका छौं। भोजन गृहले नेपाली खानेकुराको संस्कृतिलाई विश्वव्यापीकरण गर्छ।’ यसका लागि उनले पहिला आफ्ना सन्ततिहरूलाई खानपानको संस्कृतिलाई अपनत्व गर्न सिकाउनुपर्ने बताए।

यस्तै साँझमा नेवार, थारु, शेर्पा, तामाङलगायत विभिन्न नेपाल सांस्कृतिक विविधता झल्कने ८/९ प्रकारका नाँचहरू प्रस्तुत गरिन्छ। यसले त्यहाँ आएका पाहुनालाई मनोरञ्जन त प्रदान गर्छ नै त्यसबाहेक विविध मौलिक नेपाली कला र संस्कृतिबारे समेत जानकारी प्रदान गर्छ। नेपाल सांस्कृतिक विविधताले धनी देश भएको उल्लेख गर्दै उनले भने, ‘भोजन गृहले परम्परागत आकृति वा संरचनालाई मात्र ध्यान दिएको छैन। सांस्कृतिक पक्षलाई पनि उत्तिकै आत्मसात गरेको छ। यहाँ आएका विदेशी र स्वदेशी सबै पाहुनाहरूले ठेट नेपाली संस्कृतिको पनि महसुस गर्न पाउँछन्। माल्टाबाट आएका क्यारोल अजुसले भोजनगृहमा प्रस्तुत गरेको सांस्कृतिक नृत्यहरू एकदम मन परेको बताए। माल्टामा कपडा व्यवसायमा संलग्न उनले भने, ‘मौलिक नेपाली नाँचहरू निकै रमाइला हुँदा रै’छन्। भेषभूषा अनौठो तर निकै सुन्दर लाग्यो। म त मज्जाले उनीहरूसँग नाचे। हेर्नुस् त मेरा साथीहरू पनि रमाइरहेका छन्। मैले त भरपूर मनोरञ्जन लिए।’ पहिलो पटक नेपाल आएको बताउँदै उनले थपे, ‘यहाँको खाना पनि मलाई मन पर्‍यो। विशेष गरेर मम र दालभात असाध्यै मन पर्‍यो।’

प्रतिक्रिया दिनुहोस