काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आज राजधानीको नयाँ बानेश्वरमा शक्ति प्रदर्शन गरेका छन् । फागुन १ गते झापाको मेचीपुलबाट देशको वर्तमान व्यवस्थाका विरुद्ध धावा बोलेका प्रसाईंले शनिबार काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा शक्ति प्रदर्शन गरेका हुन् ।
बैंकिङ ठगीको आरोप लागेका प्रसाईले आजको कार्यक्रममा बैंक तथा वित्तीय संस्थाको खुलेर विरोध गरेका छन् । फागुन १ गतेको सभामा बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको २० लाखसम्मको कर्जा मिनाहा हुनुपर्ने बताएका प्रसाईंले आज पनि सोही कुरा दोहोर्याएका छन् । त्यस्ता संस्थाहरु विरुद्ध चरणवद्ध आन्दोलन गर्ने उनले चेतावनी दिए ।
लघुवित्तहरुको जालमा परेर सर्वसाधारणले ऋण लिएको तर ऋणीहरुलाई त्यस्ता संस्थाहरुले अपराधीको व्यवहार गरेर आत्महत्या गर्नुपर्ने वाध्यतामा लगेपछि पीडितहरुले दुर्गा प्रसाईंको अभियानलाई पर्खेर आत्महत्या गर्नबाट पछि हटेको उनले दाबी गरे । विगतमा सयकडा ३ रुपैयाँका दरले ब्याज असुल्ने गरेका सामन्तहरु अहिले लघुवित्त र बैंक खोलेर गाउँ छिरेको आरोप प्रसाईंले लगाए । त्यस्ता बैंक तथा वित्तीय संस्थाका नाममा गाउँ आउनेहरुलाई कालोमोसो दल्न र लखेट्न आज पनि आव्हान गरे ।
आफू एक सच्चा कम्युनिष्ट रहेको दाबी गरेका प्रसाईंले सर्वहारा जनताको आवाज उठाएको भरमा कम्युनिष्ट नामको पार्टीले कारबाही गरेको गुनासो गरे । नेकपा (एमाले)ले हालै आफूलाई केन्द्रीय सदस्यबाट निष्कासन गरेकोप्रति लक्षित गर्दै उनले त्यस्ता पार्टीको क्लव छोडेर जनतालाई साथ दिन सडकमा आएको बताए । देशको उच्च नागरिक राजामात्र हुन सक्ने भन्दै प्रसाईंले मेचीमा लगेर धर्मसंस्कृति बचाउने दियो बालेको दाबी गरे ।
राजाले प्रत्यक्ष शासन गरेका बेला बनेका उद्योगधन्दाहरु राजनीतिक दलका नाममा खुृलेका क्लवहरुले बेचेर खाएको आरोप लगाउँदै उनले हिजो कम्युनिष्ट नामका सर्वहारा वर्गको कुरा गर्दै सर्वहारा वर्गको भोट लिएर भुँई मान्छेको कुरा गरेर सुकुम्बासी टोलबाट २२ रुपैयाँको भुक्के चप्पल लगाएर सिंहदरबार छिरेकाहरुले अहिले काठमाडौंमै ५–६ वटा घर जोडेको आरोप लगाए । विगतमा कम्युृिनष्ट नामका दलहरुले प्रयोग गरेका जनताहरुको अहिले जंगलमा बास भएको भन्दै उनले जंगलबाट आएकाहरु महलको मालिक बनेको बताए ।
व्यवस्था परिवर्तन भन्दै नवसामन्तहरु जन्माएका दलहरुका कारण हरेक पुरुषहरु महंगो ऋण काडेर विदेशिनु परेको र बैंक तथा वित्तीय संस्थाका मान्छे आउँछन् भन्ने थाहा भएपछि महिलाहरुले पनि उज्यालो नहुँदै जंगलमा गएर बस्नु परेकोले अब यस अवस्थाको अन्त्य आफूले गर्ने दाबी गरे । अब २०४७ सालको संविधान ब्युँताएर राजालाई गद्धीमा नराखी जनताको अवस्थामा सुुधार नआउने दाबी उनको छ ।
आफूले झापाको विर्तामोडमा सञ्चालन गरेको बीएण्डसी अस्पताललाई सम्बन्धन दिलाउन माओवादी हुँदै एमालेको केन्द्रीय सदस्य बनेका प्रसाई गएको माघदेखि पूर्वराजपरिवारसँग नजिकिएका थिए । पूर्वराजा ज्ञानेन्द्र शाह तथा पूर्वयुवराज पारस शाहसँगको भेटघाटपछि उनले फागुन १ गते राजपरिवारका सदस्यहरुलाई मञ्चमा राखेर राजसंस्था फर्काउँने उद्घोष गरेका थिए ।
उनको आजको प्रदर्शनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरुसमेत सहभागी भएका देखिएका छन् । राप्रपा नेपालका अध्यक्ष कमल थापाले समेत शुक्रबार प्रसाईंले शनिबार गर्न लागेको कार्यक्रममा आफ्नो ऐक्यवद्धता रहेको जनाएका थिए ।
प्रतिक्रिया दिनुहोस