
काठमाडौं । राणा शासनका संस्थापक तत्कालीन ‘प्राइमिनिस्टर यान्ड श्री ३ महाराज’ जङ्गबहादुर राणाजी कुँवरको शनिबार दुईवटा श्राद्ध गरिएको छ । एकै तिथि र स्थानमा सरकारी खर्चमा तथा उहाँका सन्ततिले श्राद्ध गरेका छन् । राज्यका तर्फबाट श्राद्ध गरिएको १४६ वर्ष पुगेको छ भने सन्ततिले श्राद्ध गर्न थालेको १७ वर्ष मात्र भएको छ । सन्ततिले स्थापना गरेको नेपाल राष्ट्रिय राणा समाजले उनको श्राद्ध गर्दै आएको छ ।
हिन्दु धर्म संस्कृतिअनुसार तीन पुस्तासम्मको मात्र श्राद्ध गर्ने गरिन्छ । त्रिपुरेश्वरको कालमोचन घाटस्थित जङ्ग–हिरण्य–हेम नारायण मन्दिर हातामा शनिबार श्री ३ जङ्गबहादुरको श्राद्ध गरियो । जङ्गबहादुर राणाको उभिएको सालिकको आडमा सरकारी खर्चमा श्राद्ध गरियो भने पाँच फिटको दूरीमा उनका सन्ततिले श्राद्ध गरे । सरकारी खर्चमा जङ्गबहादुरको मात्र श्राद्ध गर्ने चलन छ । यसको बन्दोबस्त गुठी संस्थानले गर्दै आएको छ । जङ्गबहादुरको श्राद्ध कौसीतोषखानाले गर्दै आएकोमा २०२० सालपछि संस्थानले गर्न थालेको हो ।
रौतहटको पत्थरघट्टामा सिकारमा रहँदा १९३३ सालमा जङ्गबहादुरको निधन भएको थियो । १९३४ सालको फागुन शुक्लद्वादशीका दिनबाट श्राद्ध हुँदै आएको छ । सरकारी खर्चमा गरिएको श्राद्धमा कर्ताका रूपमा मन्दिरका पुरोहित गोविन्दप्रसाद कोइराला थिए । सन्ततिका तर्फबाट जङ्गबहादुरका पाँचौँ पुस्ताका सन्तान मेघजङ्ग राणा, छैटौँ पुस्ताका सन्तान रामप्रताप जबरा, सातौँ पुस्ताका सन्तान सन्तोषप्रताप जबरा र छैटौँ पुस्ताका सन्तान रामप्रताप जबराले ‘बडा जिजुहजुरबुबा’लाई पिण्डदान गरेका थिए ।
मन्दिरका पुजारी कोइरालाले २०५७ सालदेखि प्रत्येक वर्ष गुठी संस्थानका तर्फबाट जङ्गबहादुरको श्राद्ध गर्दै आएका छन् । नेपाल राष्ट्रिय राणा समाजले २०६३ सालदेखि सन्ततिका तर्फबाट श्राद्ध गर्दै आएको छ । जङ्गबहादुरलाई तर्पण दिएपछि कर्ता कोइरालाले भने, “यति ठूला व्यक्तिको श्राद्ध गर्न पाउँदा गर्व लाग्छ । जोसुकैले जङ्गबहादुरको श्राद्ध कहाँ गर्न कहाँ पाउँछन् र ?”
गुठी संस्थानका तर्फबाट पुरोहितका रूपमा बालाजुका शिवप्रसाद ढकालले श्राद्धको विधिअनुसार पूजापाठ गराएका थिए । जङ्गबहादुरको श्राद्धमा उनी पुरोहित भएको यो दोस्रो पटक हो । उनले जङ्गबहादुरको श्राद्ध गराउन पाउनु आफ्ना लागि निकै ठूलो कुरा भएको बताए ।
समाजका तर्फबाट २०६३ सालदेखि श्राद्ध गराउँदै आएका भक्तपुर कटुन्जेका पुरोहित मुकुन्दप्रसाद लुइँटेलले अन्यभन्दा जङ्गबहादुरको श्राद्ध गर्नु पाउँदा आफूलाई सन्तुष्टि मिलेको बताउँदै थपे, “जङ्गबहादुर राणा त राष्ट्रकै अभिभावक हुनुहुन्थ्यो । उहाँको श्राद्ध गर्न पाउँदा गौरव लाग्छ । उहाँले राष्ट्रलाई धेरै कुरा दिनुभएको छ । उहाँको ऋण हामीलाई पनि त छ । त्यसैले उहाँको श्राद्ध गर्न पाउनु सम्मान पनि हो ।”
प्रतिक्रिया दिनुहोस