
काठमाडौं । सार्वजनिक सेवा प्रवाह, निर्वाचन क्षेत्रका चासो, संसद्मा प्रस्तुत कानुनका मस्यौदामाथि दृष्टिकोण बनाउन सहयोगी हुने गरी हरेक सांसदले स्वकीय सचिव राख्न पाउने व्यवस्था छ । तर, यति महत्त्वपूर्ण जिम्मेवारीका लागि कैयौं सांसदले परिवारका सदस्यलाई मात्र योग्य ठानेर नियुक्ति दिएका छन् । जबकि निर्वाचनका बेला भने नेताहरू कार्यकर्ताको भर पर्छन् ।
कान्तिपुरले प्राप्त गरेको दस्ताबेजअनुसार प्रतिनिधिसभाका कम्तीमा ४८ सांसदले श्रीमान्, श्रीमती, भाइ, बहिनी, भतिजा, साला, भान्जा, भान्जीलाई स्वकीय सचिव बनाएर अधिकृतस्तरको तलब खुवाइसकेका छन् । संघीय संसद्का पदाधिकारीको सुविधासम्बन्धी ऐन २०७३ अनुसार सांसदका स्वकीय सचिवले मासिक ४३ हजार ६ सय ८९ रुपैयाँ तलब पाउँछन् ।
स्वकीय सचिवका रूपमा आफन्त नियुक्त गर्नेमा एमालेका २०, कांग्रेसका १६, माओवादीका ६, राप्रपाका २ तथा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति, जनमत र लोसपाका एकरएक सांसद छन् । आफन्तसहित सबै स्वकीय सचिवका नाममा संसद् सचिवालयबाट पहिलो महिनाको तलब गइसकेको छ ।
आफन्तलाई नियुक्त गर्नै नहुने भन्ने छैन, विषय विज्ञता, योग्यता र क्षमताका आधारमा जोकोही पनि सांसदको स्वकीय सचिव बन्न पाउँछ । कतिपयको नियुक्ति आवश्यकताले पनि निश्चित गर्छ । झापाका एमाले सांसद कालुराम राई आफन्त नै नियुक्त गर्नुपर्ने अवस्थामा देखिन्छन् । दृष्टिविहीन उनलाई संसद् भवनको बैठक कक्षमा रहेको कुर्सीसम्म समाएर लैजानुपर्छ, त्यसैले उनले सहयोगीका रूपमा श्रीमती शुभलक्ष्मी थुलुङ राईलाई स्वकीय सचिव राखेका छन् ।
‘बैठक कक्षमा सुरक्षाकर्मी र कर्मचारीले कुनै पनि सांसदलाई छुन नमिल्ने नियम रहेछ । स्वकीय सचिवमा श्रीमतीको विकल्प नै भएन,’ राईले भने । संसद् सचिवालयले शुभलक्ष्मीलाई स्वकीयको तलबबाहेक सहयोगी भत्ताबापत एक बैठकको ५ सय पनि उपलब्ध गराउँछ ।
प्रतिक्रिया दिनुहोस