_20230305105507.jpg)
काठमाडौं । नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका दलले पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्री प्रचण्डले अहिले १६ वटा मन्त्रालय सम्हालिरहेका छन् ।
आफ्नो सहभागितामा मन्त्रीमण्डल विस्तार गर्न नेपाली काँग्रेसले गरेका प्रस्तावहरूलाई राष्ट्रपति निर्वाचन नभएसम्मको लागि पछाडि सारेका छन् । त्यसैले यसबिच कुन पार्टीबाट कति जना को को मन्त्री बन्लान् भन्ने चर्चा र अनुमानका लागि प्रशस्त समय उपलब्ध भएको छ ।
मुलुकको अर्थतन्त्र सङ्कटको संघारका पुगेको बेला अब त्यसलाई सम्हाल्ने आट, हिम्मत र योजना साथ को अर्थ मन्त्रालय छिर्ला भन्ने चर्चा अहिले अरू मन्त्रालय वा मन्त्रीको भन्दा बढी छ । प्रधानमन्त्री प्रचण्डले आफ्नै दलको अधीनस्थ अर्थ मन्त्रालय राख्ने समेत सामान्य चर्चा चलिरहेको छ । तर, त्यो चर्चाले भन्दा प्राथमिकता अब सरकार विस्तार हुँदा नेपाली काँग्रेसको कुन सांसद अर्थमन्त्री बन्लान् भन्ने कुराले पाइरहेको छ ।
अर्थ मन्त्रालयलाई नजिकबाट नियालिरहेकाहरू र भावी अर्थमन्त्रीको अनुमान र चर्चामा उत्सुकताका साथ सहभागी बन्नेहरूको सूचीमा परेका काँग्रेसी सांसदहरू हुन्, गगन थापा, ज्ञानेन्द्र बहादुर कार्की, प्रकाश सरण महत, विनोद चौधरी र विश्वप्रकाश शर्मा ।
कार्की यसअघि पनि अर्थमन्त्री बनिसकेका हुन् । चर्चित एमसीसीलाई नेपालमा भित्र्याउन सर्वाधिक महत्त्वपूर्ण भूमिका निर्वाह गरेका कार्की काँग्रेस सभापति शेर बहादुर देउवाको रोजाइको पात्र हुन् । उनलाई नेपालमा पछिल्लो समय अत्यधिक प्रभावशाली बनेर आएको अमेरिका र त्यसका भरपर्दा मतियारका रूपमा काम गर्दै आएका विश्व बैंक तथा, अन्तर्राष्ट्रिय मुद्रा कोष समेतले नेपालको अर्थ मन्त्रालयमा बसेको हेर्न चाहेका छन् ।
तर, आफ्नो दलले अर्थ मन्त्रालय नपाए गगन थापा अर्थमन्त्री बने हुन्थ्यो भन्ने चाहाना प्रधानमन्त्री प्रचण्डको रहेको उनी निकट स्रोतले बताएको छ । स्रोतका अनुसार प्रचण्डले पटक पटक गगन थापालाई अर्थ मन्त्रालय सम्हाल्न यसबिचका भेटहरूमा अनुरोध गरिसकेका छन् । तर, उनीचाहिँ अहिलेको सङ्कटमा आफू त्यहाँ छिरेर आफ्नो लोकप्रियता नगुमाउने बरु हाललाई सामान्य पोर्टफोलियोमा नै बसेर अगाडीका लागि बाटो तयार गर्ने योजनामा रहेको बुझिएको छ ।
थापाले केही पत्रकारहरूसँग कुराकानीका क्रममा प्रचण्डले पटक पटक आग्रह गरेपनि अहिले आफू अर्थ मन्त्रालयमा जाने सोचमा नरहेको बताएको चर्चा आर्थिक पत्रकारहरूबिच छ । त्यसो त उनी अर्थ मन्त्रालय चलाउन काबिल हुन् भनेर अनुमान गर्न सकिने त्यस्ता केही आधारहरू छैनन । तथापी स्वर्णिम वाग्ले जस्ता केही अर्थशास्त्रीहरूले साथ दिए र उनलाई सफल बनाउन चाहे भने थापाले गर्ने नसक्ने चाहिँ होइन ।
नेपाली काँग्रेस भित्रका अमेरिका र भारतहरूले पत्याएका केही सीमित सांसदहरूमध्ये एकका रूपमा उनको परिचय छ । त्यसैले अर्थ मन्त्रालय छिर्न उनलाई अन्तराष्ट्रियरुपमा प्रतिकूल वातावरण छैन । बरु आन्तरिकरुपमै भने केही बलिया तगाराहरू चाहिँ देखिएका छन् ।
यो सङ्कटको घडीमा अर्थ मन्त्रालय छिर्ने र आफू अनुकूलका नीतिगत परिवर्तन गरी दिर्घकालिनरुपमा मौकाको फाइदा उठाउने दाउमा अर्बपति व्यापारी तथा सांसद विनोद चौधरी समेत लागेको भन्ने चर्चा छ । गगन थापालाई बाटो छेक्न सक्ने पात्रकारुपमा उनी पनि किन गनिन्छन् भने आफ्नो पहुँच र स्रोतको उपयोग गरेर अर्थ मन्त्रालय छिर्न सक्ने तागत राख्छन् ।
त्यसो त चौधरीलाई एक पटक अर्थमन्त्री बन्नै पर्ने बाध्यता पनि छ । उनले चाहे जसरी नीतिगत हेरफेर गर्न आफ्नै हात जगन्नाथ हुनै पर्छ । त्यसबाहेक आफ्नो कारिन्दा पठाएर जनार्दन शर्मा अर्थमन्त्री बनेका बेला गरेको करको दरको हेरफेर गर्दा के कति लाभ लिन सकिएको थियो भन्ने ताजा अनुभव उनीसँग छ ।
तर, एउटा अर्थमन्त्रीका कारण आफ्नो बचेखुचेको सामान्य राजनीति समेत सकिने पो हो की त्रासमा रहेका प्रधानमन्त्री प्रचण्ड थपक्कै कुनै व्यापारीलाई राख्न तयार बनिहाल्लान् भन्ने अहिले नै अनुमान न लगाउन गाह्रो छ । उनीसँग त्यसै नै चुनौतीमा चाङ छन् । त्यसमाथि अर्को समस्या थपेर टाउको दुखाउने पक्षमा प्रचण्ड नरहेको उनी निकट स्रोत बताउँछन् ।
यी सबै घटनाक्रमको बिचमा प्रकाश सरण महत अर्का निकै बलिया पात्र हुन् । उनका दाजु रामशरण महत्तले लामो समयसम्म अर्थ मन्त्रालय चलाए । तर, त्यतिकै काबिल व्यक्तिका रूपमा रहे पनि अवसर नपाएका प्रकाश सरणले अहिलेको चुनौती स्वीकार गरे भने त्यसलाई सफलतापूर्वक सामना गरे भने महत परिवारको साख जोगाउने मात्र होइन की आम नेपालीको कष्ट समेत कम हुनसक्छ । तर, त्यसका लागि उनले शेर बहादुर देउवाका प्रिय पात्रकारुपमा रहेका ज्ञानेन्द्र बहादुर कार्कीको ठाउँ ओगट्नु पर्ने हुन्छ ।
काँग्रेसकै महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माको नाम पनि सामान्य चर्चामा छ । तर, उनी अर्थमन्त्री बनिहाल्लान् भन्ने धेरैले अनुमान गरेका छैनन । न त उनले त्यस्तो रहर नै कतै प्रकट गरेको देखिएको छ । सरल भाषामा भन्दा विश्वप्रकासको नाममा सम्भावित अर्थमन्त्रीको सूचीमा रोमाञ्चकताको लागि मात्र हालेको देखिन्छ ।
समग्रतामा हेर्दा गगन थापाले नचाहे पनि यदि उनी मुलुकप्रति जिम्मेवार बन्ने र आफ्नो क्षमता देखाउने हो भने अर्थ मन्त्रालयमा छिर्ने आँट गर्नु पर्छ । उनले भावी प्रधानमन्त्रीकारुपमा जसरी प्रस्तुत गरिरहेका छन् त्यसमा लागि आफू योग्य पात्र रहेको प्रमाणित गर्ने समय हो यो । र, आम नेपालीका साथै कांग्रेसजनहरु पनि अर्थमन्त्रीकारुपमा गगन थापालाई किन हेर्न चाहिरहेका छन् भने नयाँ पुस्ताको योग्यता र दक्षताको परीक्षण गर्ने पनि यही बेला नै हो ।
प्रतिक्रिया दिनुहोस