aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

'जनयुद्धको बाटोमा अघि बढौँ' भन्ने ब्यानरमा प्रचण्डले गरे माओवादीका सबै भङ्गाला एकै ठाउँ मिसाउने घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २१ फागुन २०७९
'जनयुद्धको बाटोमा अघि बढौँ' भन्ने ब्यानरमा प्रचण्डले गरे माओवादीका सबै भङ्गाला एकै ठाउँ मिसाउने घोषणा

काठमाडौँ। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनका विभिन्न भङ्गालाहरू फेरि एक ठाउँमा उभिने परिस्थिति आएको बताएका छन्। सर्वोच्च अदालतले उनी विरुद्धको मुद्दा दर्ताको लागि अनुमति दिएपछि प्रचण्डले यस्तो बताएका हुन्। 

आइतबार काठमाडौँमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले माओवादी आन्दोलन विभाजित हुँदा विजातीय वर्गले फाइदा उठाएको भन्दै एकताका निम्ति अपिल गरे। बाबुराम भट्टराईले सर्वोच्चमा मुद्दा दर्ता हुने र पूर्व माओवादीलाई मुद्दा लगाउने कुराले नेपालको राजनीतिलाई ठिक ठाउँमा नपुर्‍याउने बताएकै अर्को दिन प्रचण्डको यस्तो घोषणा गरेका हुन्। 

'जनयुद्धको बाटोमा अघि बढौँ' भन्ने नारा सहितको ब्यानर राखेर बोल्दै कार्यक्रममा प्रधानमन्त्रीले भने, “माओवादी आन्दोलन एउटा ठुलो प्रवाहको रूपमा अगाडि आयो, शान्ति प्रक्रियापछि विभिन्न भङ्गालातिर विभाजितजस्तो भयो। अब ती सबै भङ्गालाहरू एकै ठाउँमा मिसिएर एउटा विशाल सागर बन्ने दिशातिर जाने समय आयो।"

उनले अपिल गरे- हामी सबैले हामी सबैका अनुभवहरूलाई हाम्रा अनुभव भनौँ। त्यसमा भएका तीता–मीठा, राम्रा–नराम्रा सबै कुरा आत्मसात् गर्न सकेको दिन हामी कसैले पनि कमजोर साबित गर्ने नसक्ने गरी बलियो हुन्छौँ।

यस्तो छ सम्बोधनको पूर्णपाठ

हामी माओवादी आन्दोलनका विभिन्न धाराका प्रतिनिधिहरू यहाँ उपस्थित छौँ। यस फाउन्डेसनले आज दिन खोजेको सन्देश शक्तिशाली सन्देश हो भन्न ठान्दछु। यो कार्यक्रमको अर्थ र महत्व धेरै ठुलो र दूरगामी छ। मैले यहाँ पार्टी अध्यक्षको रूपमा मात्रै नभई प्रधानमन्त्रीको रूपमा समेत बोल्दा नेपाल सरकारका केही महत्त्वपूर्ण काम र सहिद तथा बेपत्ता योद्धाको सम्मान र सपनालाई केन्द्रमा राखेको छु।

केही दिनअघि सहिद तथा बेपत्ता योद्धाका परिवारको तर्फबाट बालुवाटारमा कार्यक्रम भएको थियो। त्यहाँ एकराज भण्डारीले सबैको तर्फबाट केही विषय गम्भीर ढङ्गबाट राख्नुभएको थियो। र, मैले यी भावना तथा विचारहरूलाई गम्भीर रूपमा लिएको छु भनेको थिएँ। अहिले पनि मैले तपाईँहरूले उठाएका मुद्दाहरूलाई गम्भीर रूपमा नै लिएको छु।

हामी कमजोर छैनौँ। हाम्रो आन्दोलन कमजोर छैन। माओवादी आन्दोलन र त्यसको प्रभाव अहिले पनि कमजोर छैन। हामी विभिन्न धारामा भए पनि यिनीहरू एक ठाउँ उभिन सक्छन्, त्यसको प्रभाव जबरजस्त रहनेछ भन्ने बुझेर नै प्रतिक्रियावादीहरूले विभिन्न खालका भ्रम छर्ने, अनि घेरा हाल्ने षड्यन्त्र गरिराखेकै छन्। 

हिजो जनयुद्धको अन्तिम समयतिर पनि देखेकै कुरा हो, त्यो बेला पनि हामीविरूद्ध ठुलो घेराबन्दी गरिएको थियो। त्यस कारण अहिले एकताबद्ध हुनुपर्छ भन्ने हामी सबैलाई जुन बोध भएको छ, यो एउटा शक्ति ठान्छु। म सबै साथीहरूलाई यो विषयमा गम्भीरतापूर्वक विचार गर्न आग्रह गर्दछु। एकचोटी माओवादी एक ठाउँमा जम्मा भएर लाखौँ जनता सडकमा उतार्ने हो भने प्रतिक्रियावादी शक्ति र तत्त्वहरू धेरै कमजोर हुनेछन्। माओवादीले फेरि एकचोटी विजयको नयाँ यात्रा सुरु गर्न सक्छ भन्ने मेरो विश्वास घटेको छैन, म विशेष रूपमा तपाईँहरूलाई अपिल गर्दछु– दृढ सङ्कल्पका साथ एक ठाउँ उभिऊँ।

काठमाडौंकै जगडोलमा सम्पूर्ण सहिदहरू र बेपत्ता योद्धाहरूको समृति र सरकारबाट घोषणा गरिएका सहिदहरूको नाम उल्लेख गरिएको पार्क उद्घाटन गरिसकेको छु। यो आफैमा ठुलो परिघटना हो। फागुन १ गतेलाई जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको रूपमा मनाउने औपचारिक निर्णय र वैधानिक घोषणा भयो। यो आफैमा अर्को एउटा कोशे ढुङ्गा नै हो। जनयुद्ध, यसका सहिदहरू र बेपत्ता योद्धाहरूका त्याग तपस्या र बलिदानलाई स्थापित गर्न कुरामा सरकार दृढतापूर्वक लागिरहेको छ।

अहिले पटक पटक गरिएका सहिद घोषणालाई राजपत्रमा प्रकाशित गरी राष्ट्रिय सहिदको रूपमा सम्मान गर्ने निर्णय पनि मन्त्रिपरिषद्को बैठकबाट भएको छ। यी सबै निर्णयहरूले के कुरालाई राम्रोसँग सङ्केत गरेको छ भने हजारौँ सहिद तथा बेपत्ता योद्धाहरू र तिनका सपनाहरू कसैले जबरजस्ती बदनाम गर्न खोज्दैमा वा दबाउन खोज्दैमा त्यो दबिनेवाला छैन। 

फागुन १४ गतेदेखि २१ गतेसम्म सहिद सप्ताह मनाउने योजना जनयुद्ध कालदेखि नै सुरु गरिएको थियो। झापा विद्रोह र जनयुद्धलाई जोड्ने उद्देश्यका साथ सुरु गरिएको सहिद सप्ताह यस पटक पनि विविध रूपमा मनाइएको छ। त्यस कारण जनयुद्ध र यसका उपलब्धि दबिनेवाला छैनन्। केही भूतप्रेतहरू बाटोमा निस्किँदैमा इतिहास निर्माण गर्ने, त्याग र बलिदान गर्ने ती जनताका महान् सपुतहरू सिद्धिने कुरा हुँदैन।

अहिले सरकारको तर्फबाट सहिद तथा बेपत्ता योद्धालाई सम्मान गर्ने प्रक्रिया जसरी एकपछि अर्कोगरि अगाडि बढेको छ, यसबाट प्रतिक्रियावादीहरू आतङ्कित भएका छन्। तिनीहरू फेरि एक पटक माओवादीसँग तर्सेका छन्। त्यस कारण माओवादीका विरुद्ध तथानाम गालीगलौज गर्ने, विभिन्न खालका षड्यन्त्रहरू गर्ने, बदनाम गर्ने फेरि प्रयास गरेका छन्, जुन कुरा हिजो हामी जनयुद्धकाल र शान्ति कालमा पनि पटक पटक देखेका छौँ। भ्रम छर्ने, घेरा हाल्ने र सखाप पार्ने प्रतिक्रियावादीको रणनीतिविरुद्ध भ्रम चिर्ने, घेरा तोड्ने र प्रतिरोध गर्ने माओवादीको रणनीति हो। हामी यसरी नै गएका छौँ। यो तथ्य नेपालको इतिहासमा स्थापित भएको छ। 

अहिले माओवादीहरू एक ठाउँमा उभिएर सहिद बेपत्ता योद्धाको भावना र सपनालाई सम्मान गर्ने सङ्कल्प ग¥यौँ भने त्यो दिन फेरि आउनेछ, जहाँ हाम्रो नयाँ विजय हुनेछ। मैले विभिन्न उतारचढाव, घुम्ती मोड, अप्ठ्याराहरू पार गर्दै अहिले फेरि देशको नेतृत्व गर्ने र क्रान्तिका उपलब्धि संस्थागत गर्ने अवसर पाएको छु। संविधानले पहिलो पटक नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाएको छ। यस कुरामा अहिले प्रहार हुँदै छ। यो उपलब्धिबाट विरोधीहरू आत्तिएका छन्, त्यसैले फेरि हामी माओवादीहरू फेरि एक ठाउँमा आउन जरुरी छ।

माओवादी आन्दोलन एउटा ठुलो प्रवाहको रूपमा अगाडि आयो, शान्ति प्रक्रियापछि विभिन्न भङ्गालातिर विभाजित जस्तो भयो। अब ती सबै भङ्गालाहरू एकै ठाउँमा मिसिएर एउटा विशाल सागर बन्ने दिशातिर जाने समय आयो। हामी सबैले हामी सबैका अनुभवहरूलाई हाम्रा अनुभव भनौँ। त्यसमा भएका तीता–मीठा, राम्रा–नराम्रा सबै कुरा आत्मसात् गर्न सकेको दिन हामीलाई कसैले पनि कमजोर साबित गर्ने नसक्ने गरी बलियो हुन्छौँ। सबै अनुभवलाई आफ्नै अनुभवका रूपमा र सबै सहिदहरूलाई जनताका सहिदका रूपमा सम्मान गर्ने विचार र भावनाबाट अगाडि बढ्यौँ भने हाम्रो एकतालाई कसैले पनि रोक्न सक्दैन। 

जनयुद्धको कमान्डरको हैसियतले अहिले पनि राष्ट्रिय अन्तर्राष्ट्रिय विभिन्न दबाब र घेराबन्दीका विरुद्ध म लडिराखेको छु। बाबुरामजी, विप्लवजी, धर्मेन्द्रजी पनि लडिराखेकै देखेको छु। पहिला जस्तो छैन घटनाक्रमहरू, हामी आ–आफ्नै ढङ्गले लडिराखेकै छौँ। अब हामी सबै एक ठाउँ भएर लड्यौँ भने यो अजर अमर हुन सक्छ।

अनि मात्रै हामी सहिद बेपत्ता योद्धाप्रति इमानदार भएको ठहरिन्छ। त्यस कारण तपाई सहिद तथा बेपत्ता योद्धाका परिवारहरूले माओवादी आन्दोलनका भङ्गालाहरू एक ठाउँ ल्याउन जुन कोसिस गर्नुभएको छ, त्यो धेरै ठुलो कुरा छ। यस कार्यक्रमपछि नयाँ शिराबाट हाम्रो वार्ता सुरु हुनेछ, हामी एकता वा मोर्चाका रूपमा नयाँ ढङ्गले अगाडि बढ्छौँ।

प्रतिक्रिया दिनुहोस