aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

रक्सी र गाँजा ख्वाउनेहरुले कांग्रेसलाई कहाँ पुर्‍याउँदैछन् ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २१ फागुन २०७९
रक्सी र गाँजा ख्वाउनेहरुले कांग्रेसलाई कहाँ पुर्‍याउँदैछन् ?

काठमाडौं । नेपाली काँग्रेस दोलखाले नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिको परीपत्र अनुसार सौगात थापालाई जिल्ला अध्यक्ष बनाएको छ । दोलखाका कांग्रेस सभापति तथा नेता वर्मा लामा नेतृत्वको जिल्ला समितिले निर्णय गरी नेविसंघ दोलखाका नेता थापाको नाम लेखी पठाएको थियो । 

यद्यपी, केन्द्रले नेविसंघको साधारण सदस्य समेत नरहेको, कुनै ईकाई समिति सदस्य पनि नभएको मान्छेको नाम  लेखी पठाएको भन्ने सामाजिक सन्जाल मार्फत थाहा पाएपछि सभापति लामाले असन्तुष्टि जनाएका छन् । लामा भन्छन्, ‘यसरी जिल्ला समितिले गरेका निर्णयहरु बदर गर्दै जाने हो भने कसरी संगठन निर्माण गर्न सकिन्छ ?, फेरि जिल्लामा वर्षौदेखि दुःख गरेर नेविसंघप्रति समर्पित भएर बसेका भाइबहिनीहरुको राजनीतिक जीवन माथिको खेलबाड कदापी सहन सकिँदैन ।’ 

लामा अगाडि भन्छन्–, ‘काठमाडौतिर बरालिएर बसेका नेता हुँ भन्नेहरुलाई रेस्टुरेन्टमा रक्सी ख्वाउने र गाँजा मोलेर ख्वाउनेहरुलाई जिल्लाको नेतृत्व सुम्पँदै जाने हो भने भोलिको काँग्रेस कस्तो बन्ला ? कुनै परामर्श नगरी चालेको कदमहरुको विरुद्ध दोलखा काँग्रेसले एक भएर प्रतिवाद  गर्नेछ ।, यस्ता गलत कदम चाल्ने विवेकहीन नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाप्रति खेद व्यक्त गर्दछु । 

सभापति लामा जोड दिन्छन्, ‘नेपाल बिद्यार्थी संघ दोलखाको आधिकारिक अध्यक्ष सौगात थापा नै रहेको कुरा जानकारी गराउँदछु । त्यसैगरी भोलि नै दोलखा नेविसंघको बैठक तथा भेलाबाट सौगात थापाको अध्यक्षतामा अन्य सदस्यहरु समेतको चययन हुनेछ ।

प्रतिक्रिया दिनुहोस