
काठमाडौं । सिरहाको धनगढीमाई नगरपालिका–१३ र ८ मा अवैध रूपमा ढुंगा–गिटी र बालुवा उत्खनन हुँदा मानवबस्ती जोखिममा परेको छ। अवैध उत्खननका कारण करिब दुई हजार पाँच सय मानिस विस्थापित हुने जोखिम बढेको हो।
ढुंगा–गिटी र बालुवा खानीका नाममा भइरहेको अवैध उत्खननबाट पीडित धनगढीमाई–१३ भोर्लेनी खजनपुरिया टोलका मनोज यादव भन्छन्, ‘चार पुस्तादेखि बस्दै आएको थातथलो छोडेर भाग्नुपर्ने अवस्था आएको छ। ढुंगा–गिटी र बालुवा खानी माफियाले बस्तीको चारैतिर ठुल्ठुला खाल्डा खनेर घरखेत नै उजाड पार्न थालिसके। अब सरकारले कि अवैध र अनियन्त्रित उत्खनन रोक्नुपर्छ कि हामीलाई अन्यत्र सारिदिनुपर्छ।’ उनले स्थानीय सरकारले जनतालाई राहतभन्दा आघात पुर्याउने काम गर्दै आएको दुखेसो पोखे। उनले भने, ‘स्थानीय सरकारले निमुखा जनतालाई राहत होइन, आहत दिँदैछ। बस्ती मास्ने र असुरक्षा बढाउने उत्खनन रोक्न वडा कार्यालयदेखि नगरपालिकासम्म गुहार लगाउँदा पनि सुनुवाइ भएको छैन।’ खजनपुरियाका मनोज मात्र होइन, लगडी टोल, बलडारा, भोर्लेनी गरी दुई हजार पाँच सय मानिस सबैको पीडा यही हो।
मनोज अहिले ३५ वर्षका भए। उनका हजुरबुवा जयजयराम साबिक कमलपुर गाउँबाट भोर्लेनी सरेका थिए। गागन खोलाले खेत कटान गर्न थालेपछि थातथलो छाडेर जयजयराम भोर्लेनी आएका थिए। ‘पहिलापहिला यो ठाउँ पर्यावरणीय दृष्टिले गुल्जार थियो,’ जयजयरामका अर्का छोरा जोगिन्दर यादव भन्छन्, ‘हावापानी र हरियालीका कारण यो ठाउँमा बस्ती बाक्लिन थाल्यो। दक्षिणवर्ती गाउँहरूबाट यहाँ बसोबास गर्न आउनेको लहर चल्यो। तर एक दशकदेखि उत्खनन माफियाहरूको नजर लाग्न थालेपछि यो क्षेत्र उजाड बन्दै गएको छ।’ उनका अनुसार यस क्षेत्रमा क्रसर उद्योग स्थापना हुन थाले। तिनै उद्योगले अवैध र अनियन्त्रित्र रूपमा बालुवा, ढुंगा र गिटी निकालेर बेच्न थाले। प्रहरी, प्रशासन, स्थानीय सरकार र ठेक्केदारबीचको सेटिङमा प्राकृतिक सम्पदामाथिको अनियन्त्रित र अवैध दोहनका कारण यो क्षेत्र उराठलाग्दो बन्दै गएको जोगिन्दरले बताए। चौतर्फी हरियाली बीचमा बसेको मानव बस्ती विस्थापित हुने अवस्था आएको छ।
प्राकृति सम्पदा दोहनको क्रम धनगढीमाई नगरपालिका १३ मा मात्र सीमित छैन। यो क्रम वडा नम्बर ८ मा पनि जारी छ। जनवन (मजदुरी) गरेर गुजारा चलाउँदै आएका धनगढीमाई नगरपालिका–८ महुलियाटोलका अवधेश यादव भन्छन्, ‘सरकार निमुखाका लागि हुन्छ भनेर सुनेको थिएँ तर गलत रहेछ। हेर्दा लाग्छ, धन हुनेका लागि मात्र सरकार हुने रहेछ।’ प्राकृतिक सम्पदा उत्खनन बस्ती उजाड्ने गरी हुनु हुन्न तर यहाँ मानव बस्ती विस्थापित गर्नेगरी स्थानीय सरकारकै संरक्षणमा उत्खनन भइरहेको उनले बताए।
तीव्र उत्खनन नरोकिए यो क्षेत्र चाँडै मरुभूमिमा परिणत हुने वडा नम्बर १३ का अध्यक्ष सूर्यमान तामाङको बुझाइ छ। सीमित व्यक्तिका कारण मानवबस्तीको अस्तित्व नै संकटमा पर्ने खतरा बढेको उनले बताए। अवैध उत्खननका कारण वडा नम्बर ८ का जोगियाटोल, लामाटोल, महुलियाटोल, महुवाडाँडा, लगडीबालाटोल, महतोटोल प्रत्यक्ष रूपमा प्रभावित छन्। टोलको चारैतिर तीव्र उत्खनन भइरहेको छ। बाटोघाटो, कुलो, पैनी सबै उत्खननको चपेटमा परेका छन्, पर्दै छन्। अवैध उत्खननमा जिल्लास्थित राजनीतिक दलका केही नेताको पनि संलग्नता भएको स्थानीय बासिन्दाको दाबी छ।
प्रतिक्रिया दिनुहोस