aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

गुणस्तरीय नभएको भन्दै स्थानीयले रोके कालोपत्रेको काम

  • रासस
    रासस
  • सोमबार, २२ फागुन २०७९
गुणस्तरीय नभएको भन्दै स्थानीयले रोके कालोपत्रेको काम

काठमाडौं । तम्घास–रेसुङ्गा सडकमा दुवैतर्फबाट आवतजावत पूर्णरुपमा बन्द गरी निर्माण व्यवसायीले कालोपत्रे गरिरहेका थिए । तर स्थानीयले भने सम्झौताअनुसार काम नगरेको भन्दै रोक लगाइएको स्थानीय प्रकाश भलामीले बताए ।  “मापदण्डअनुसार काम भएको छैन”, उनले भने, “कालोपत्रे उप्किएर गिट्टी माटो देखिन्छ ।” उनले आफूहरु निर्माणस्थलमै पुगेर काम रोकेको र गुणस्तरीय काम गर्ने सम्झौता भएपछि मात्रै काम सुरु गर्न दिने बताए ।  

स्थानीय नीरज मरासिनीले व्यवसायीले दुवैतर्फको आवतजावत ठप्प गरी काम गर्नु स्वार्थपूर्ण भएको दाबी गरे । “एकतर्फी खुल्ला राख्दै पालैपालो सडक निर्माण गर्नुपर्ने हो तर कमसल सडक निर्माण गर्ने नियतले दुवैतर्फ सडक बन्द गरेको देखिन्छ”, उनले भने, “सम्झौताअनुसार गुणस्तरीय काम हुने सुनिश्चित भएपछि मात्रै काम सुरु हुन्छ ।”

तम्घास–रेसुङ्गा नामाकरण भई विसं २०७४ असार ३० गते सडक पूर्वाधार विकास कार्यालय गुल्मी र आशीष शेर्पा रामेछाप जेभीअन्तर्गत रामेछाप शेर्पा कन्ट्रक्सन प्रालिबीच निर्माणको सम्झौता भएको थियो । सडक पूर्वाधार विकास कार्यालय तम्घासका प्रमुख इन्जिनियर सचितानन्द चौधरीका अनुसार आयोजनाको अवधि पछिल्लो पटक म्याद थपगरी आगामी जेठसम्म लम्ब्याइएको छ । यसका लागि कूल रु १७ करोड १८ लाखमा सम्झौता भएको छ । कालोपत्रे गुणस्तरीय भए वा नभएको विषयमा आफूहरुले अनुगमन गर्ने उनको भनाइ छ । “विवादले काम रोकिएका कारण अब सर्वपक्षीय छलफल हुन्छ”, उनले भने,  “सम्झौताअनुसारको काम हुन्छ, लामो समयसम्म काम रोकिन्न ।”

निर्माण व्यवसायी बीरेन्द्र भुसालले भने आफूहरुले सम्झौताअनुसार नै काम गरिरहेको दाबी गरे । उनले ८० प्रतिशत काम सकिएको भन्दै रु १३ करोड ५२ लाख भुक्तानी लिइसकिएको बताए ।

प्रतिक्रिया दिनुहोस