काठमाडौं । फागुन ३ गते काठमाडौंको बुद्धनगरस्थित आफ्नै निवासमा लिक भएको ग्यास दुर्घटनामा परेर जलेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद डा. चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार भइरहेको छ । फागुन ४ गते भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा भर्ना गरेर उपचार गरिएका भण्डारीको सबै स्वास्थ्य प्यरामिटरहरू अहिले सामान्य रहेको उनको पारिवारिक श्रोतले जानकारी दिएको छ ।
परिवारका सदस्यले बताए अनुसार कलमी छालाले राम्रो प्रतिक्रिया दिइरहेको छ । स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ ।
भण्डारीको उपचार नेपालमा सम्भव नभएपछि चिकित्सकको सल्लाहमा भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा लगिएको थियो । डाक्टर र अस्पताल प्रशासन द्वारा आगन्तुकहरूलाई कडाइका साथ निषेध गरिएको छ ।
निवासमा खाना पकाउने ग्यास लिक भई आगलागी हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए । हरिकलाको भने उपचारका क्रममा फागुन ४ गते नै निधन भएको थियो ।
प्रतिक्रिया दिनुहोस