
कठमाडौं । मधेश प्रदेशका जिल्लामा रङहरूको पर्व फागुको उमङ्ग छाएको छ। सहरदेखि गाउँटोलसम्म फागुपर्वको उत्सवमा सबै रमाएका छन्।
मधेशका जिल्लामा सोमबार, मङ्गलबार र बुधबार रङ खेलिँदै छ। मधेशमा बसोबास गरिरहेका पहाडी समुदायले सोमबार फागुपर्व मनाएका छन्। धनुषाबाहेकका जिल्लामा मङ्गलबार र धनुषामा बुधबार फागु खेलिँदै छ।
जनकपुरधाम समाचारदाताका अनुसार मिथिलाञ्चलको बहुचर्चित धार्मिक एवं सांस्कृतिक उत्सव मिथिला माध्यमिकी परिक्रमा सोमबार जनकपुरधाम आइपुगेको छ। फागुन ८ गते औँसीका दिन धनुषाको कचुरीस्थित मिथिलाविहारी मन्दिरबाट सुरु भएको परिक्रमा जनकपुरधाम आइपुगेको छ।
मिथिलाविहारी मन्दिरबाट सुरु भएको परिक्रमा हनुमानगढी, भारतको कल्याणेश्वर, गिरिजास्थान, मटिहानी, जलेश्वर, मडइ, ध्रुवकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, सत्तोषर, औरही, करुणा, विशौल हुँदै जनकपुरधाम आइपुगेका छन्।
मङ्गलबार बिहान जनकपुरधामको अन्तरगृह परिक्रमा गरेपछि यो परिक्रमा विधिवत सम्पन्न हुनेछ। यस परिक्रमामा भाग लिन नसकेका श्रद्धालु अन्तरगृह परिक्रमामा सहभागी हुने गर्दछन्। अन्तरगृह परिक्रमामा सहभागी हुन पाए पनि मोक्ष प्राप्ति हुने जनविश्वास छ। परिक्रमामा सहभागी यात्रीले नेपालका १०७ एवं भारतको २६ गरी १३३ किलोमिटर भूमिको पैदलयात्रा तय गरेका थिए।
ठूलो सङ्ख्यामा जनकपुरधाम भित्रिएका परिक्रमावासी बाह्र बिघा, अग्नी कुण्ड, तिरहुतिया गाछी, गङ्गासागरलगायतका स्थानमा बसोबास गरी मङ्गलबार यहाँ आइपुगेको हो। बिहान स्नान गरी अन्तरगृह परिक्रमाअन्तर्गत जनकपुरधाममा लगभग आठ किलोमिटर नगर वरिपरि परिक्रमा गरेपछि परिक्रमाका यात्रीहरू घर फर्किन्छन् र फर्केको भोलिपल्ट बुधबार फागुको रङ खेल्ने छन्।
नगरप्रमुखलाई ढहलेल पुरस्कार
महोत्तरी समाचारदाताका अनुसार जिल्लामा पहिलो ढहलेल (मुर्ख) श्री पुरस्कारबाट मटिहानी नगरपालिका प्रमुख हरिप्रसाद मण्डल सम्मानित भएका छन्। मिथिला सांस्कृतिक विकास केन्द्र जलेश्वरको आयोजनामा आइतबार साँझ सम्पन्न भएको फगुवा फुर्रर दङ्ग तथा व्यङ्ग्य विनोद कवि सम्मेलन कार्यक्रममा मण्डललाई सम्मानित गरिएको हो। ढहलेल श्री र समाजसेवी तथा प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवार रहेका रामआधार कापरलाई भकचोन्हर श्री २०७९ ले सम्मान गरिएको छ। दुवै पुरस्कृत भएकालाई ढहलेल र भकचोन्हर लेखिएको नाङ्लोको तक्मा, गम्छा, बाँसको चस्मा तथा तरकारीको माला लगाएर केन्द्रका अध्यक्ष ताराकान्त झाले सम्मान गरेका थिए।
प्रतिक्रिया दिनुहोस