काठमाडौं । विशेष अदालत काठमाडौंबाट फैसला भएका मुद्दाहरुमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग असन्तुष्ट बनेको छ । अदालतबाट फैसला भएका चार वटा मुद्दाको फैसलामा चित्त नबुझेको भन्दै आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गराएको हो ।
विभिन्न मितिमा फैसला भएका गैरकानुनी लाभ तथा हानीनोक्सानी, सार्वजनिक सम्पत्ति हानीनोक्सानी, राजस्व हिनामिना र गलत लिखत सम्बन्धी मुद्दाहरुमा पुनरावेदन गराएको आयोगले जनाएको छ । पर्याप्त प्रमाण हुँदा हुदै विशेष अदालतले अभियोगीहरुलाई सफाइ दिएको अख्तियारको भनाई रहेको छ ।
सिडिई दिनेश अर्याल, लेखा अधिकृत जिवनाथ पोखरेल, इञ्जिनियर राजकुमार यादव र सञ्जिवकुरमार साहविरुद्ध आयोगले १९ लाख ५० हजार बिगोसहित मुद्दा दताए गरेको थियो । उनीहरुविरुद्धको मुद्दामा पर्याप्त प्रमाण हुँदाहुँदै अदालतले गत असार २० गते सफाइ दिएको भन्दै आयोग असन्तुष्ट बनेको हो ।
त्यस्तै, सरकारी सम्पत्ति हानीनोक्सानी गरेको आरोपमा दिपिका रेग्मीविरुद्ध चार करोड २४ लाख १३ हजार बिगो कायम गरि मुद्दा दर्ता गरिएको थियो । जसमा रेग्मीलाई आठ वर्ष कैद र तीन करोड ९२ लाख ४४ हजार रुपैयाँ बिगो तिराउँदै फैसला सुनाईएको थियो । रेग्मीसंग जोडिएका अन्य पैतिवादीहरुलाई अदालतले सफाइ दिएको अख्तियारले जनाएको छ ।
गलत लिखत तयार गरि भैष्टाचार गर्ने कृष्णकुमार नेपालविरुद्धको मुद्दामा समेत आयोगले पुनरावेदन गराएको छ । यसका साथै राजस्व हिनामिना गर्ने डोमा शेर्पाविरुद्धको मुद्दामा समेत आयोगले चित्त नबुझाएको हो । उनले सुन लुकाउन लगाई गैरकानुनीरुपमा राजस्व चुहावट गरेको आयोगको आरोप छ ।
प्रतिक्रिया दिनुहोस