aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

अब खानी इन्जिनियरिङ पनि पढ्न पाईंने

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • बुधबार, २४ फागुन २०७९
अब खानी इन्जिनियरिङ पनि पढ्न पाईंने

काठमाडौं । काठमाडौँ विश्वविद्यालय (केयू)ले खानी तथा खानीजन्य उद्योगमा आवश्यक पर्ने खानीसम्बन्धी इन्जिनियरिङ विषयको अध्यापन थाल्ने भएको छ। देशभित्र खानी इन्जिनियरको अभाव हुँदै गएपछि विश्वविद्यालयले नेपालमा नै पहिलो पटक स्नातक तहमा भू–विज्ञान तथा माइनिङ इन्जिनियरिङ (खानी इन्जिनियर)को अध्यापन गर्ने तयारी गरेको हो। 

केयूले सुरु गर्न लागेको भू–विज्ञान तथा माइनिङ इन्जिनियरिङ विषयलाई गण्डकी विश्वविद्यालयले पनि सञ्चालन गर्न चासो देखाएको छ। केयूले आगामी शैक्षिक सत्रदेखि स्नातक तहमा चारवर्षे भू–विज्ञान तथा माइनिङ इन्जिनियरिङ (खानी इन्जिनियर) विषय अध्यापन सुरु गर्ने भएको छ। 

“देशमा खानीजन्य उद्योगको विकास भए पनि यी उद्योगमा आवश्यक पर्ने इन्जिनियरको अभाव छ, त्यो अभाव पूरा गर्ने उद्देश्यले स्नातक तहमा चारवर्षे भू–विज्ञान तथा माइनिङ इन्जिनियरिङ (खानी इन्जिनियर)को अध्यापन सुरु गर्न लागेका हौँ,” केयूका उपकुलपति प्राडा भोला थापाले बताए । 

उपकुलपति प्राडा थापाले थपे, “हामीले सुरु गर्न लागेको उक्त विषयको पढाइ गण्डकी विश्वविद्यालयले पनि सञ्चालन गर्ने इच्छा देखाएको छ। उहाँहरूले उक्त विषयको पढाइको प्रवेश परीक्षा केयूले लिएर परीक्षाफल पनि केयूलाई नै गर्दिन आग्रह गर्नुभएको छ।” 

उनले विश्वविद्यालयले पाठ्यक्रमको मस्यौदा तयार गरेको बताए । प्राडा थापाले भने, “विद्यार्थीलाई खनिजको अन्वेषण, उत्खनन, प्रशोधन र उपयोगका लागि त्यसको गुणस्तरको सुनिश्चितता गर्न सिकाउनेछौँ।” 

उनले नेपालमा उद्योग र निर्माणका लागि आवश्यक पर्ने चुनढु्ङ्गा, कोइला, रातो माटो, ग्रेनाइट, सिङ्गमर्मर, कोइला, सुन र बहुमूल्य र अर्ध–बहुमूल्य पत्थर (टुरमलाइन, एक्वामेरिन, रुबी र नीलमणि) रहेको बताए।

प्रतिक्रिया दिनुहोस