aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

मेलम्चीको पानी वितरणका लागि विच्छाइएका पाइपबाट चुहावट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २४ फागुन २०७९
मेलम्चीको पानी वितरणका लागि विच्छाइएका पाइपबाट चुहावट
फाइल फोटो

काठमाडौं । मेलम्ची खानेपानी वितरणका लागि काठमाडौं उपत्यकामा बिछ्याइएका पाइपमा चुहावट भएको पाइएको छ । पछिल्लो एक दशकयता विच्छाइएका नयाँ पाइपमा चुहावट भएको पाइएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । 

निर्देशनालयले एशियाली विकास बैंकको ऋण सहयोगमा सन् २०१३ देखि चक्रपथभित्र एक हजार १० किमी पाइप विच्छाएको थियो । नयाँ पाइपमा पनि अरु निकायले काम गर्दा क्षति पुगेकाले चुहावट हुन थालेको निर्देशनालयको सूचना अधिकारी चन्द्रकुमार पुन श्रेष्ठले बताए । उनका अनुसार ढल तथा सडक बनाउँदा, विद्युत् अण्डरग्राउण्ड गर्दा पाइपमा क्षति पुगिरहेकाले पनि सडकमा धेरै ठाउँमा चुहावट पाइएको छ । “पुरानो पाइपमा त चुहावट हुने नै भयो नयाँ पाइपमा पनि चुहावटको समस्या भइरहेको छ”, उनले भने ।   

निर्देशनालयले यसअघि विच्छाइएको पाइपको परीक्षण गरिरहेको छ । नयाँ पाइपमा परीक्षण गर्दा ठाउँठाउँमा चुहावट पाइएको र ती ठाउँमा मर्मत गरेर पुनःपरीक्षण गरिने उनको भनाइ छ । “अन्तिम परीक्षणमा पनि समस्या नभएको पाइए मात्रै नयाँ पाइपबाट पानी पठाउन सकिनेछ”, उनले भने ।

नयाँ पाइप परीक्षणको क्रममा हुँदा हाल काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले पुरानो संरचनाबाट नै पानी वितरण गरिरहेको छ । उपत्यकामा झण्डै एक सय वर्ष पुरानो पाइप रहेकाले पनि पुराना पाइपमा बढी समस्या भइरहेको कार्यालयको भनाइ छ । पहिलो कम परिमाणमा पानी वितरण हुने गरेको तर मेलम्चीको पानी दैनिक १७ करोड लिटर आउँदा पाइपमा समस्या भएको हो । नयाँ पाइप परीक्षणका क्रममा भएकाले अहिले पुरानो पाइपबाटै पानी वितरण भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए ।   

खासगरी ललितपुरको लगनखेल र आसपासका क्षेत्र, काठमाडौँमा पुरानो बस्ती क्षेत्रमा चुहावटको समस्या बढी छ । सरकारले गत महिनाबाट उपत्यकामा मेलम्चीको खानेपानी पुनः वितरण सुरु गरेको थियो । मेलम्चीको पानीको वितरण दुई वर्ष पहिले नै सुरु भए पनि बाढीका कारण धेरै संरचनामा क्षति पुगेकाले बर्सेनि हिउँद महिनामा मात्रै पानी वितरण भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस