
काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष कस्लाई बनाउने भन्ने चलखेल शुरु हुन थालेको छ । सत्तापक्ष दलभित्र आ–आफ्नो गुट नजिकका व्यक्तिलाई अध्यक्ष बनाउनु पर्छ भन्नेबीच तीव्र लविङ शुरु भएको छ । बोर्डका वर्तमान अध्यक्ष डा. रेबतबहादुर कार्कीको कार्यकाल आगामी कात्तिक १ गतेबाट सकिँदैछ । उनको कार्यकाल सकिनु करिब डेढ महिना मात्र बाँकी छँदादेखि नै अध्यक्ष कसलाई बनाउने भन्ने बारेमा तीव्र लविङ शुरु भएको छ । बोर्डको अध्यक्ष बन्ने लिगलिगे दौडमा करिब आधा दर्जन देखिएको स्रोतको भनाइ छ । त्यस दौडमा विज्ञ सदस्यमा भीष्मराज ढुंगानालाई अगाडि रहेको बताइन्छ ।
धितोपत्र बोर्डको अध्यक्ष बनाउने गरी विज्ञ सदस्यमा भीष्मराज ढुंगानालाई नियुक्ति गरिएको भन्ने पनि एकाथरीको भनाइ छ । उनलाई अध्यक्ष बनाउन राष्ट्र«पति विद्यादेवी भण्डारी लागि परेकी छिन् । राष्ट्र«पति भण्डारीले प्रधानमन्त्री केपी ओलीसँग समेत उनलाई नै अध्यक्ष बनाउनुपर्छ भन्ने प्रस्ताव राखेको स्रोतको भनाइ छ ।
ढुंगाना राष्ट्रपति भण्डारी निकट मानिन्छन् । राष्ट्रपति भण्डारीकै सिफारिसमा उनी केही महिना अघि बोर्डको विज्ञ सदस्य नियुक्त भएका हुन् । तर, नेकपा अध्यक्ष पुष्पकमल दाहाल पक्ष भने भीष्मराज ढुंगानालाई बोर्डको अध्यक्ष बनाउन नहुने लबिड शुरु गरेका छन् । उनीहरुले आफ्नो गुटको व्यक्ति नियुक्ति गर्नुपर्नेमा जोड दिँदै आएको छन् । केपी ओली निकट मानिने अर्थमन्त्री डा. युवराज खतिवडाले धितोपत्र बोर्डको आगामी अध्यक्ष बनाउने गरी ढुंगानालाई विज्ञ सदस्यमा नियुक्त गरेका थिए ।
बोर्डको विज्ञ सदस्य गत चैतदेखि खाली थियो । निलबहदुर सारु मगर अवकाश भएको छ महिनापछि राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक ढुंगाना नियुक्ति गरिएको थियो । ढुंगाना राष्ट्र बैंकको तर्फबाट पदेन सदस्यका रुपमा नेपाल स्टक एक्सचेञ्जको सञ्चालक समिति सदस्य पनि थिए । त्यसैले पनि अर्थमन्त्री खतिवडालाई ढुंगानालाई विज्ञ सदस्यमा नियुक्त गर्न सहज भएको थियो ।
ढुंगानाले लामो समय राष्ट्र बैंकको विदेशी विनिमय विभागको प्रमुख भएर काम गरेका थिए । उनी केही महिनाअघि राष्ट्र बैंकबाट अवकाश भएका थिए । धितोपत्र बोर्डका अध्यक्ष कार्की दशैंअघि नै बिदामा बस्ने तयारीमा छन् । अध्यक्षको एक महिनाभन्दा बढी बिदा बाँकी रहेकाले बिदा बस्ने तयारीमा रहेको धितोपत्र बोर्डका एक कर्मचारीले बताए । बोर्डका अध्यक्ष कार्कीले चालू आर्थिक वर्षको बोर्डको नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए । अध्यक्ष कार्कीले वित्तीय सुधारमा भूमिका खेल्ने बताएका थिए ।
उनले केन्द्रीय निक्षेप कम्पनीमा अभौतिकृत रुपमा रहेका निश्चित सीमासम्मको शेयरको बीमा गर्नका लागि बोर्डले सहजीकरण गर्ने, सरकारले कर छुटमार्फत उत्पादनमूलक कम्पनीलाई धितोपत्र बजारमा ल्याउन प्रोत्साहन गरेको परिपेक्षमा यस्ता कम्पनीलाई सहुलियत दरमा ऋण प्रवाह गराइ थप प्रोत्साहनको व्यवस्था गर्नेलगायतका योजना बनाएका थिए । तर, ती योजना उनको कार्यकाल सकिएसँगै कागजमा मात्रै सीमित हुन पुगेका छन् ।
यसैगरी बोर्डका अध्यक्ष कार्की कमोडिटी मार्केट सञ्चालनका लागि दुई कम्पनी छनौट गर्ने वा नगर्ने भन्ने द्विविधामा छन् । उनले लामो समय हुँदा पनि कमोडिटी लाइसेन्स सञ्चालनका लागि अनुमति दिन सकेका छैनन् । लामो समय अनिर्णयको बन्दीले बोर्डमा कमोडिटी सञ्चालनको अनुमति (लाइसेन्स) दिनका लागि ठूलो आर्थिक चलखेल शुरु भएको संकेतको रुपमा लिइएको छ । बोर्डमा ६ कम्पनीले कमोडिटी सञ्चालन अनुमतिका लागि आवेदन दिएका थिए । तर, बोर्डले बढी अंक ल्याउने दुई कम्पनीलाई मात्र कमोडिटी मार्केट सञ्चालन गर्न अनुमति दिने भनिएको थियो । तर, अहिले अंकभन्दा पनि जसले बढी द्रब्य बुझाउँछ त्यसैले लाइसेन्स पाउने सम्भावना रहेको स्रोतको भनाइ छ ।
६ मध्ये बढी अंक ल्याउने दुई कम्पनीलाई सञ्चालनको अनुमति दिने तयारी भइरहेको बताइए पनि रकम जसले बढी बुझाउँछ त्यसैले लाइसेन्स कुम्ल्याउने सम्भावना बढेको बोर्डका एक उच्च कर्मचारीले बताए । एक्सचेन्जका सञ्चालक, रणनीतिक साझेदार, चुक्ता पुँजी, वस्तु बजारको क्षेत्र, स्वदेशी वा विदेशी वस्तुलाई दिने प्राथमिकता तथा व्यावसायिक योजनालगायतका आधारमा अंक दिइने र ती सबै अंक जोड्दा बढी प्राप्त गर्ने दुई कम्पनीलाई कमोडिटी सञ्चालन गर्न दिइने भनिए पनि रकम जसले बढी बुझाउँछ त्यही कम्पनी नै उत्कृष्ट हुने, बढी अंक पाउने र लाइसेन्स पनि उसैले पाउने निश्चित जस्तै छ । बोर्डले चुक्ता पुँजी, विदेशी कम्पनीसँगको साझेदार, कामको मूल्याकनलगायतका विभिन्न ८, १० बुँदा बनाएको थियो ।
ती बुँदामा कति नम्बर दिने भन्ने एकिन गरी सकिएको भनिए पनि त्यो केबल देखाउने हात्तीको दाँत भएको उच्च स्रोतको भनाइ छ । सबैभन्दा बढी नम्बर ल्याउने दुई कम्पनीलाई कमोडिटी सञ्चालनका लागि अनुमति दिने तयारी बोर्डले गरेको छ भनिए पनि त्यो गौण हुने र द्रब्य प्राथमिकता पर्ने बोर्डका ती उच्च अधिकारीले बताए ।
अहिले सञ्चालनको अनुमति माग्दै बोर्डमा मल्टी डेरिभेटिभ एक्सचेन्ज (एमडेक्स), नेपाल डेरिभेटिभ एक्सचेन्ज (एनडीईएक्स), नेसनल डेरिभेटिभ कमोडिटी, नेपाल मर्कन्टाइल (नेक्स), फ्युचर्स एक्सचेन्ज (सीएफएक्स) र राइजल कमोडिटी एक्सचेन्ज (आरसीडीएक्स)ले कमोडिटी निवेदन दिएका छन् ।
यसअघि पनि कमोडिटी मार्केट सञ्चालनको अनुमति माग गर्दै पाँच वटा कम्पनीको आवेदन परेको थियो । बोर्डले ती सबै आवेदन रद्द गरेर गत वैशाख ११ मा पुनः आवेदन मागेको थियो । तर, बोर्डले दुई कम्पनी भन्दा बढीलाई कमोडिटी एक्सचेन्ज सञ्चालन दिन नहुने निर्णय गरेपछि सबै (पाँच) कम्पनीको निवेदन रद्द गरिएको थियो । नयाँ आवेदन माग गरिएको थियो । दुई वटा मात्र आवेदन आउने बोर्डले अनुमान गरेको थियो । तर, पहिले भन्दा बढी निवेदन परेपछि बोर्डलाई छान्न अप्ठ्यारो परेको थियो । बोर्डले भने यसपटक तीमध्ये उत्कृष्ट अंक ल्याउने दुई कम्पनीलाई मात्र कमोडिटी सञ्चालनको अनुमति दिने भन्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस