
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने भएको छ । बुधबार राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको हो ।
बिहीबार हुने राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् । राष्ट्रपति निर्वाचनमा प्रतिनिधि, राष्ट्रिय र प्रदेशसभा सदस्यले मतदान गर्ने व्यवस्था रहेको छ । राप्रपाका १४ जना प्रतिनिधिसभा सदस्य र २८ जना प्रदेशसभा सदस्य रहेका छन् । निर्वाचन आयोगले फागुन २५ गते राष्ट्रपतिको निर्वाचन गर्ने निर्णय गरेको छ। उपराष्ट्रपतिको निर्वाचन भने चैत ३ गते हुने छ।
नेपालको संविधान अनुसार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक फरक लिङ्ग वा समुदायको प्रतिनिधित्व हुने गरी गर्नुपर्ने भएकाले फागुन २५ को निर्वाचनको नतिजाका आधारमा कस्तो व्यक्ति उपराष्ट्रपति हुने टुङ्गो लाग्नेछ। राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आगामी फागुन २८ गते र उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल चैत ३ गते सकिँदैछ।
प्रतिक्रिया दिनुहोस