aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

देशले आजै नयाँ राष्ट्रपति पाउने, कसको छ सम्भावना ?

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • विहीबार, २५ फागुन २०७९
देशले आजै नयाँ राष्ट्रपति पाउने, कसको छ सम्भावना ?

काठमाडौं । गणतन्त्र स्थापनापछि देशले आज (बिहीबार) चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपति पाउँदै छ । निर्वाचन आयोगले राष्ट्रपति चयन गर्ने प्रक्रियाका लागि सबै तयारी पूरा गरेको छ ।

आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाका अनुसार नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा राष्ट्रपति चयन गर्न आज बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदानको कार्यक्रम तय गरिएको छ । मतदानलगत्तै साँझसम्म गणना सकेर निर्वाचित राष्ट्रपतिलाई आयोगले प्रमाणपत्र तत्कालै दिने प्रमुख आयुक्त थपलियाले जानकारी दिए ।

‘बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ,’ आयोगका प्रमुख निर्वाचन आयुक्त थपलियाले राजधानीसँग भने, ‘मतदानपछि साँझसम्म गणना सकेर निर्वाचित राष्ट्रपतिलाई आयोगले तत्कालै प्रमाणपत्र दिनेगरी तयारी गरेका छौं ।’

निर्वाचनमा संघीय संसद्का ३ सय ३२ र प्रदेशसभा सदस्य ५ सय ५० गरी ८ सय ८२ जना मतदाता कायम भएका छन् । मतदानका लागि प्राविधिक, जनशक्ति र अन्य व्यवस्थापकीय सम्पूर्ण तयारी पूरा भएको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिए । निर्वाचनमा संघीय सांसदको एक मतबराबर ७९ र प्रदेशसभा सदस्यको एक मतबराबर ४८ मतभार कायम गरिएको निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रपति पदको निर्वाचनमा आठदलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका तर्फबाट उपाध्यक्ष सुभाषचन्द्र नेम्वाङ उम्मेदवार छन् । उनीहरू दुवै जना पूर्वसभामुखसमेत हुन् ।

निर्वाचन अधिकृतको कार्यालयले दिउँसो ३ बजे मतदान कार्य सम्पन्न भएसँगै मतगणना कार्य सुरु गर्ने र साँझसम्म परिणाम घोषणा गर्ने तयारी गरेको छ । त्यसपछि आयोगले निर्वाचित हुने उम्मेदवारलाई राष्ट्रपतिमा निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नेछ भने आयोगले भोलि ९शुक्रबार० राष्ट्रपति कार्यालयलाई नयाँ राष्ट्रपति निर्वाचित भएको प्रतिवेदन बुझाउनेछ ।

उच्च स्रोतका अनुसार नयाँ राष्ट्रपतिलाई साइत हेरेर राष्ट्रपति कार्यालयले २९ फागुनमा पद तथा गोपनीयताको शपथ गराउने तयारी गरेको छ । राष्ट्रपति कार्यालयले नवनिर्वाचित राष्ट्रपतिको पदभार र कार्यकाल सकिएर बिदा हुने राष्ट्रपति विद्यादेवी भाण्डारीको बिदाइ एकै दिन गर्नेगरी २९ फागुनको मिति तय गरेको स्रोतले जानकारी दिएको हो । वर्तमान राष्ट्रपति भण्डारीको कार्यकाल २८ फागुनसम्म कायम हुने भएपछि २९ फागुनमा नयाँ राष्ट्रपतिलाई शपथ गराइने तयारी भएको हो ।

संविधानमा उल्लेख भएको व्यवस्थानुसार राष्ट्रपतिलाई प्रधानन्यायाधीशले पद तथा गोपनीयताको शपथ गराउनेछन् । जसअनुसार नयाँ राष्ट्रपतिलाई कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको शपथ गराउनेछन् ।

संविधानको धारा ७१ मा ‘राष्ट्रपति र उपराष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि संघीय कानुुनबमोजिम राष्ट्रपतिले प्रधानन्यायाधीशसमक्ष र उपराष्ट्रपतिले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्नेछ’ भनिएको छ ।

राष्ट्रपति पदमा कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाले गठबन्धन गर्दै पौडेललाई साझा उम्मेदवार बनाएका हुन् । एमालेले भने एक्लै नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको हो ।

संसदीय अंकगणितका हिसाबबाट राष्ट्रपतिमा आठदलीय गठबन्धनसँग सुविधाजनक मतभार छ । गठबन्धन पक्षधर उम्मेदवारका पक्षमा प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभामा गरी ३१ हजार ९ सय ७८ मतभार छ । एमालेका पक्षमा भने प्रतिनिधिसभा, राष्ट्रिय सभा तथा प्रदेशसभामा गरी कुल १६ हजार २ सय २१ मतभार देखिन्छ ।

कांग्रेससँग प्रतिनिधिसभामा ६ हजार ९ सय ५२ मतभार छ । यसैगरी, राष्ट्रिय सभामा ८ सय ६९ मतभार छ । कांग्रेससँग कोसी प्रदेशमा १ हजार ३ सय ९२, मधेस प्रदेशमा १ हजार ५६, बाग्मतीमा १ हजार ७ सय ७६, गण्डकीमा १ हजार २ सय ९६, लुम्बिनीमा १ हजार २ सय ९६, कर्णालीमा ६ सय ७२ सुदूरपश्चिममा ९ सय १२ गरी जम्मा १६ हजार २ सय २१ मतभार छ । संघ र प्रप्रदेशमा गरी कांग्रेससँग एमालेभन्दा बढी मतभार छ ।

प्रतिक्रिया दिनुहोस