aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

नेपाल बायुसेवाको जहाजमा सबै महिला पाइलट

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • विहीबार, २५ फागुन २०७९
नेपाल बायुसेवाको जहाजमा सबै महिला पाइलट

काठमाडौं । नेपालका महिला गृहिणी, घरधन्दा र बालबालिका हेर्ने काममा मात्र सीमित हुन्छन् भन्ने भनाइ गलत साबित भएको छ ।

परिआएको खण्डमा एवं अवसर पाए भने नेपालका महिलाले जस्तोसुकै जोखिमपूर्ण काम पनि गर्दा रहेछन् भन्ने उदाहरण देखाएका छन् नेपाल वायुसेवा निगमका दुईजना महिला विमान चालक र अन्य चालकदलका महिला सदस्यहरूले ।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर मुलुकको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले बुधबार आफ्नो विमान उडानमा चालकदलका सबै महिला सदस्यलाई मात्र सहभागी गराएर नयाँ इतिहास बनाएको छ ।

निगमको बुधबार दुबईबाट काठमाडौं अवतरण गरेको ए३२० विमानको सबै चालकदलका सदस्य महिला मात्र थिए । जसमा कमान्डर चालक भावना गिरी पन्त र सहचालक सृजना रावतले निगमको विमान उडाएका थिए ।

महिला दिवसको अवसरमा दुबईबाट उनीहरूले व्यावसायिक यात्रुवाहक विमान उडाएर ल्याएको साहसिक कामको खुसियालीमा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सो विमान चालकदलका सबै महिला सदस्यलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती र नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले भव्य स्वागत गरेका थिए ।

पूरै चालकदलका सदस्य महिला मात्र भएको निगमको सो विमानको सफल उडानमा कमान्डर पाइलट पन्त, को–पाइलट रावत, आईएफएस बास्ना राना, फ्लाइटपर्सन अन्जक महर्जन, एयर होस्टेज संगीता केसी र अनिशा प्रजापति सवार थिए ।

हाल निगममा कुल नौ जना महिला विमान चालक रहेकामा एक जना ए३३० विमान उडाउने, चार जना ए३२० विमान उडाउने र चार जना आन्तरिक उडानका विमान उडाउने रहेका छन् । यसैगरी, निगममा कार्यरत १ सय ४५ जना ‘क्याबिन क्रू’मध्ये ९६ जना महिला क्याबिन क्रू रहेका छन् ।

यसअघि निगमको विमानबाट गत आइतबार पनि पहिलोपटक यी दुई महिला चालक भावना गिरी पन्त र सहचालक सृजना रावतले विमानको ककपिट सम्हालेर काठमाडौं–दुबई सुरक्षित उडान भरेर निगमकै इतिहासमा नयाँ रेकर्ड कायम गर्न सफल भएका थिए । उनीहरूको यही साहसिक कामको कदर गर्दै बुधबार अन्तर्राष्ट्रिय महिला दिनसको अवसरमा उनीहरूलाई सम्मान गरी यस्तो कीर्तिमानी रच्न चालकदलका सदस्यहरू सबै महिला मात्र सहभागी गराइएको निगमले जनाएको छ ।

निगमकी प्रवक्ता अर्चना खड्काले यस उडानको विमानमा चालकदलका सबै सदस्यहरू महिला मात्र सहभागी गराएर निगमले नयाँ इतिहास रचेको बताइन् । उनले यो निगम र सिंगो नेपाल देशका लागि नै निकै गौरवको विषय भएको जनाइन् । खड्काले सो उडानको सम्पूर्ण जिम्मेवारी महिलाले सम्हालेकाले नयाँ रेकर्ड कायम भएको दाबी गरिन् ।

प्रतिक्रिया दिनुहोस