aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

भेडेटारमा ३० करोड लगानीमा सिसाको ‘स्काई वाक’ बन्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २५ फागुन २०७९
भेडेटारमा ३० करोड लगानीमा सिसाको ‘स्काई वाक’ बन्दै

भेडेटार । भेडेटारमा सिसाको ‘स्काई वाक’ बन्ने भएको छ । सार्वजनिक निजी साझेदारी मोडलमा बन्न लागेको सो परियोजना ३० करोड रुपैयाँ लागतमा सम्पन्न हुने बताइएको छ  । वण्डर्स ग्रुप अन्तर्गत वण्डर्स एम्युजमेन्ट पार्क्स एण्ड अट्याक्सन्स प्रालिले यो  परियोजना निर्माण गरिरहेको छ । अहिले जग हाल्ने काम सकिएको कम्पनीका  अध्यक्ष प्रबिन्द्र पोख्रेलले जानकारी दिए ।

स्काइ वाक क्यान्टिलिभर टावरको मोडलमा ५० मिटर लामो बनाइनेछ । स्काइ वाकमा एकैपटकमा २०० जना हिड्न सक्छन् । सिसाको स्काइ वाकको तल भिर भएकाले झन् थ्रील अनुभव हुने पोख्रेल बताउँछन् । भेडेटारको हालको भ्यु टावर भएको ठाउँमा निर्माण सुरू गरिएको यस परियोजना सन् १२०२३ भित्र नै सम्पन्न गर्ने लक्ष्य लिइएको कम्पनीका निर्देशक दामोदर शर्माले जानकारी दिए ।

परियोजना साँगुरी गढी गाउँपालिका धनकुटा र धरान उपमहानगरपालिका सुन्सरीको सिमानामा पर्दछ  । परियोजना सञ्चालन गर्न प्रदेश लगानी प्राधिकरणले २५ वर्षको लागि अनुमति  दिएको शर्माले बताए । काठमाडौंको कमलादीमा हाल निर्माण भइरहेको स्काई वाक टावर र इलामको कन्याममा निर्माण भइ सञ्चालनमा आइसकेको कन्याम क्लाउड नामको स्काई वाक पनि वण्डर्स ग्रुपले निर्माण गरेको हो । 

प्रतिक्रिया दिनुहोस