
काठमाडौं । लैङ्गिक डिजिटल डिभाइड अन्त्य गर्न र सबै विविधताका महिला र युवाहरूको शिक्षा, प्रविधिमा पहुँच बढाउँदै लैङ्गिक समानता प्राप्त गर्नका लागि सर्वप्रथम सबैलाई डिजिटल साक्षरता आवश्यक छ।
मार्च ८ अर्थात ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा ‘लैङ्गिक समानताको बलियो आधार : सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ राष्ट्रिय नारामा आधारित भई स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तर्सम्म विभिन्न कार्यक्रम आयोजना गरी श्रमिक महिला दिवस मनाइएको छ। यस वर्षको अंग्रेजी नारा ‘डिजिटअलस् इनोभेसन एन्ड टेक्नोलोजी फर जेन्डर इक्वालिटी’ रहेको थियो।
यसैगरी यस वर्ष मार्च ६ देखि १७ सम्म संयुक्त राष्ट्र संघको मुख्यालय, न्युयोर्कमा भइरहेको युएन कमिसन अन द स्टाटस अफ वोमेन ६७ औँ सेसन (महिलाको स्थितिसम्बन्धी आयोगको ६७औँ सेसनको) विषय पनि ‘प्रविधिको युगमा सबै महिला र बालिकाहरूको सशक्तीकरण र लैङ्गिक समानता प्राप्त गर्नका लागि नवीनता, प्रविधिमा परिवर्तन र शिक्षा’ रहेको थियो।
हरेक वर्ष हुने यस आयोगमा संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरूका सरकारी प्रतिनिधि र नागरिक समाजका प्रतिनिधि उपस्थित भई आआफ्नो देश र परिवेशमा भएको महिला र बालिकाहरूको सशक्तीकरणको अवस्था, प्रगति र बाधाहरू पुनरावलोकन गर्ने र सो अवस्थालाई सुधार्दै लैङ्गिक समानता प्राप्त गर्न के गर्न सकिन्छ भनेर छलफल, सुझाव र निष्कर्ष आदानप्रदान गरिन्छ।
११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवससम्म आइपुग्दा समयको छलाङसँगै विश्वमा सञ्चार र प्रविधिमा विकास अत्यधिक भएको छ। वर्तमान समयमा हरेक उमेर समूहका मानिसका लागि स्मार्ट फोन, इन्टरनेट, अनलाइन स्पेस आजको आवश्यक्ता भएको छ। सञ्चार र प्रविधिमा भएको विकासले गर्दा शिक्षा, ज्ञान, सिप र सूचना लिन र आफ्नो क्षमता विकास गर्न एवम् आफ्नो कार्य सहज रूपमा सम्पन्न गर्नका लागि मानिसलाई एकदमै सहज भएको छ। यद्यपि, सबै उमेर, लिङ्ग, वर्ग र क्षेत्रका मानिसले सञ्चार र प्रविधिमा भएको विकासलाई अर्थपूर्णरूपमा उपभोग गर्न सकिरहेका छैनन्। यसका प्रमुख कारण भनेको सञ्चार र प्रविधिमा सबै वर्ग, लिङ्ग, समुदायको पहुँच नहुनु हो। शिक्षा, सञ्चार र प्रविधिमा सबैको समान र अर्थपूर्ण सहभागिता र पहुँच भएकाले गर्दा नै विशेषतः पछाडि रहेका लिङ्ग, वर्ग र समुदाय झनै पछाडि परेका छन्।
बियोन्ड बेइजिङ कमिटी नेपालले महिलाको स्थितिसम्बन्धी आयोगको ६७औँ सेसनको विषयमा आधारित भइ प्रदेशस्तरीय र राष्ट्रिय स्तरको परामर्श कार्यक्रमहरू फेब्रुअरीमा सम्पन्न गरेको थियो। परामर्श कार्यक्रममा सातै प्रदेशबाट ३ सय बढी विविध समुदायका महिला र युवाहरूको सहभागिता थियो। यसका साथै शिक्षा, सञ्चार र प्रविधिका विषयमा आएका प्रमुख मुद्दाहरू डिजिटल साक्षरताको कमी, सञ्चार र प्रविधिका साधन र उपकरणमा सबैको पहुँच नभएको यसमा पनि विशेषतः अपाङ्गतामैत्री नभएको, स्थानीय भाषा र आदिवासी जनजातिका भाषा, शिक्षा र प्रविधिमा पहुँच नभएको तथा सञ्चार र प्रविधिका साधन खरिदमा सबै वर्गका लागि किफायती नभएका कारण प्रविधिमा हुने पहंँच, प्रयोग र उपलब्धता सबैमा समान नभएकोरनरहेको तथ्य उक्त छलफलमा आएको थियो।
प्रतिक्रिया दिनुहोस