aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

बैंकको जागिर छोडेर आयुर्वेद पसल खोलेका ईश्वर राज भन्छन्, ‘फाइदा त्यति नभए पनि खुसी छु’

  • इश्वरी थापा
    इश्वरी थापा
  • शुक्रबार, २६ फागुन २०७९
बैंकको जागिर छोडेर आयुर्वेद पसल खोलेका ईश्वर राज भन्छन्, ‘फाइदा त्यति नभए पनि खुसी छु’

काठमाडौं । आयुर्वेद उपचारको लागि एकदमै उपयुक्त देश मध्येको एक हो, नेपाल । निरोगी हुने जीवन पद्धति भनेको आयुर्वेद हो । आयुर्वेदको पद्धति अपनाएर मान्छे निरोगी हुन सक्छ । रोग लागेपछि अस्पताल धाउनुभन्दा रोग नै लाग्न नदिनु उत्तम उपाय हो । यो वैकल्पिक विधिमा परे पनि यसले मान्छेलाई विभिन्न स्वास्थ्य लाभ दिइरहेको छ ।  

विगत २३ वर्षदेखि यस्तै आयुर्वेद औषधिको माध्यमबाट सेवा दिइरहेको छ ध्रुव तारा आयुर्वेद औषधि पसलले । यो पसल काठमाडौंको अनामनगरमा रहेको छ । गोदावरी नगरपालिका १३ झरुवारासी घर भएका ६० वर्षीय ईश्वर राज घिमिरेले यस पसलका सञ्चालक हुन् । उनलाई ३६ वर्षीय कान्छा छोरा सञ्जय घिमिरेले सहयोग गर्दै आएका छन् ।  

ईश्वर राजले आयुर्वेद पसल सञ्चालन गर्नुअघि कृषि विकास बैंकमा काम गर्थे । उनका छोरा सञ्जय घिमिरे पनि आयुर्वेदिक फार्मेसिमा काम गरेका थिए । यो आयुर्वेद पसल चिसोमा बिहान ८.३० बजे देखि साँझ ६.३० बजेसम्म खुल्ला रहने घिमिरेले बताए । 

ईश्वर राजले एक लाख लगानी गरेर यो पसल सञ्चालनमा ल्याएका हुन् । ‘मेरा साथीहरूले पनि यही क्षेत्रमा काम गरेको भएर मैले पनि यही काम गर्ने सोच बनाए । त्यही सोचले बैंकको जागिर छोडेर यो पसल सञ्चालनमा ल्याएको हो । सुरुमा यो काम गर्दा १ लाखको लगानीबाट सुरु गरेको र हाल अहिले १० लाखको लगानी छ’, उनले सुनाए । 

उनले यो आयुर्वेदिक औषधि पसल टिनको टहराबाट सुरु गरेका हुन् । आफूले यो पसल सुरु गरेपछि छोराले पनि यसमै साथ दिएको उनले बताए । आफ्नो पसलले आयुर्वेदिक औषधि पसलले व्यर्होनुपर्ने सम्पूर्ण मापदण्ड पुरा गरेर व्यवस्थित ढङ्गले सञ्चालन गरिरहेको उनको जिकिर छ । 

कोरोना महामारीपछि धेरै मानिसहरूले आयुर्वेदमा विश्वास बढेको उनको भनाई छ । उनले अहिले पेट सम्बन्धित सम्पूर्ण रोगको उपचार गरिरहेका छन् । यसका साथै पायल्स, रुघाखोकि, पत्थरी, कब्जियत, ग्याष्ट्रिक, बाथ, शरीरको प्रतिरोधात्मक क्षमता बढाउने सम्बन्धी औषधिहरू, कलेजो सम्बन्धीका रोग निको पर्ने औषधिहरू, मुटुको उपचार उनले गर्दै आएका छन् । 

‘आयुर्वेद क्षेत्रमा त्यति फाइदा हुँदैन । व्यवसायबाट नाफा चाहिँ छैन । जति हुन्छ खाना, घरभाडा तिर्न, काम गर्नेलाई तलब दिन ठिक्क हुन्छ’, उनले भने । 

आफ्नो पसलमा सबैभन्दा बढी ग्याष्ट्रिकका रोगी, रुघाखोकी ,पत्थरी, पायल्स र बाथ रोग लागेका बिरामीहरू आउने गरेको उनले बताए । ‘जुन अरू औषधिबाट सम्भव छैन, त्यो आयुर्वेद औषधिबाट सम्भव छ । हाम्रोबाट औषधि लगेका धेरै बिरामीहरू निको भएका छन्’, उनले दाबी गर्दै सुनाए । 

उनले दैनिक ३० देखि ४० जना बिरामीलाई सेवा दिँदै आएका छन् । आफ्नो पसलमा आउने ग्राहकहरू बढ्दो रहेकोले थप लगानी गर्ने तयारीमा उनी रहेका छन् ।  

 

प्रतिक्रिया दिनुहोस