aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

मिसन ग्रासरुटमा लागे ओली, ठेलामा पोलेको मकै खादै केटाकेटीसँग भलाकुसारीमा व्यस्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २६ फागुन २०७९
मिसन ग्रासरुटमा लागे ओली, ठेलामा पोलेको मकै खादै केटाकेटीसँग भलाकुसारीमा व्यस्त

काठमाडौं । राजनीतिकरुपमा पराजित देखिएका केपी शर्मा ओली मिडियामा छाउनबाट भने रोकिएका छैनन । बिहिबार राष्ट्रपति निर्वाचनमा आफ्नो पक्षका उम्मेदवार सुवासचन्द्र नेम्वाङको हार घोषणा भएको ठिक २४ घण्टामा उनले आफ्नो फेसबुक पेजमा तस्बिर हाले । 

आफ्नो आधिकारिक फेसबुक पेजको कभर फोटोमा नै मिसन ग्रासरुट लेखेका उनले त्यसैसँग मिल्नेगरि तल्लो वर्गकोबिचमा पुगेको देखाउनेगरि तस्बिर पोस्ट गरेको हुन् । ठेलामा राखेर पोलिरहेको मकै किनेर खाएको र त्यस अवसरमा आफूले स्कुलबाट फर्कँदै गरेका केटाकेटीसँग भलाकुसारी गरेको समेत उनले भनेका छन् । 

त्यति मात्रै होइन उनले आफूलाई एकदमै मज्जा लागेको र मकै बेच्ने एक जना बहिनी भएको समेत उल्लेख गरेका छन् । जहाँ उनले लेखेका छन्, ‘पार्टी कार्यालयबाट घर फर्कँदै थिएँ, बाटोमा स्कुल छुटेर फर्किँदै गरेका नानीबाबुहरूसँग रमाइलो भेट गर्ने अवसर मिल्यो ।’   

त्यसैगरि, काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन्द्र साह (बालेन)को आदेशमा मकै पोलेर बेचिरहेकी एक वृद्ध महिलामाथि ज्यादती भएको घटनाले केही समय अगाडी ठूलो चर्चा पाएको प्रसङ्गसँग पनि उनको यो स्टन्टलाई जोड्न सकिन्छ । यसरी विभिन्न अर्थ दिने खालका काम गर्ने कुरामा माहिर उनले त्यसैलाई महत्त्वमा राख्दै सायद लेखेको हुनु पर्छ, ‘नजिकै एक जना बहिनी मकै पोलेर बेचिरहनु भएको रैछ, पोलेको मकै खाएँ । एकदम मज्जा लाग्यो ।’ 

जेहोस्, राजनीतिक स्टन्डबाजी, चर्चा, ठट्टा जे गरेर भए पनि मिडियामा छाइरहने पूर्व प्रधानमन्त्री ओली पछिल्ला दिनमा राजनीतिकरुपमा भने कमजोर र निरीह बनेका छन् । 

 

प्रतिक्रिया दिनुहोस