काठमाडौं । नागरिकताविहीन नागरिकहरुले आफूहरु कहिलेसम्म अनागरिक भएरबस्नु पर्ने भन्दै प्रश्न गरेका छन् । नागरिकताविहीन संघर्ष समितिले शनिबार राजधानीको रिपोर्टर्स क्लवमा पत्रकार सम्मेलनको आयोजना गरी यस्तो प्रश्न गरेका हुन् ।
समितिका अध्यक्ष ईन्द्रजित साफीले नागरिकता विधेक–२०७९ को प्र्रमाणिकरण रोकिएका कारण देशका लाखौं जन्मसिद्ध नागरिकका सन्तान र एकल आमाका सन्तानले अनागरिक भएर बाँच्न विवस हुनु परेको गुनासो गरे । प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट बहुमतले पारित गरेर राष्ट्रपति कहाँ पठाएको नागरिकता विधेयक प्रमाणिकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले गैरजिम्मेवार कार्य गरेको उनले आरोप लगाए ।
नेपालको संविधान २०७२ जारी भएको झण्डै आठ वर्ष हुँदा पनि नागरिकता सम्बन्धी विवाद टुंगोमा नपुग्नु दुःखद् भएको साफीको भनाइ रहेको छ । राष्ट्रपति भण्डारीले दुईपटक फिर्ता गरेको नागरिकता विधेयक प्रमाणीकरण गरेर साँच्चिकै देश र देशका नागरिकहरुको अभिभावकत्व निर्वाह गर्न उनले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गरे ।
संघर्ष समितिका सदस्य उत्तम कुमारले राज्यले देशका सबै जनतालाई नागरिकको हैसियत दिने भनेको भएर पनि जिल्ला प्रशासन कार्यालयमा जाँदा प्रमुख जिल्ला अधिकारीले नागरिकता दिन माथिको आदेश छैन भन्दै फर्काउने गरेको गुनासो गरे । कुनै पनि नेपाली नागरिकको सन्तानलाई नागरिकताबाट बञ्चित गरिने छैन भनेर नेपालको संविधानमा प्रष्ट लेखिएको भएपनि त्यो कार्यान्वयनमा आउन नसक्दा लाखौं नागरिकहरु मौकि हकबाटै बञ्चित हुनु परेको उनको भनाई रहेको थियो ।
नागरिकता अभावकै कारण शिक्षा, स्वास्थ्य, रोजगारबाट नागरिकता बिहीनहरु बञ्चित हुनुपरेको भन्दै उत्तमकुमारले नागरिकता विहीनहरु नागरिकता अभावकै कारण जीवन मरणको अवस्थामा पुगेको बताए । नागरिकता अभावकै कारण उच्च शिक्षा हासिल गरेका योग्य जनशक्तिले रोजगारबाट बञ्चित हुनुपरेको र यस्ता समस्या समाधानका लागि सरकार गम्भीर हुनुपर्ने बताए ।
आफू नेपालको नागरिक भएर नागरिकता हुँदाहुँदै पनि आफ्नो सन्तानलाई नागरिकता दिन नसकेकोमा उनले दुख पोखे । नागरिकता अभावकै कारण उच्च शिक्षा हासिल गरेका योग्य जनशक्तिले रोजगारबाट बञ्चित हुनुपरेको गुनासो उत्तमकुरको थियो ।
२०६३ सालमा जन्मको आधारमा आफूले नागरिकता पाएको तर आफ्ना सन्तानलाई नागरिकता दिन नसकेको दुखेसो कमलजित सिंहले गरे । जन्मको आधारमा नागरिकता प्राप्त गरेको व्यक्तिको सन्तानले नागरिकता प्राप्तिबाट बञ्चित हुनु दुःखद् भएको उनको भनाइ छ ।
नागरिकताविहीनहरुको आन्दोलनमा समर्थन जनाएकी कर्मा तमाङले लाखौं युवाहरु नागरिकता नभएको कारण श्रम बजारमा जान नसक्नु दुःखद् भएको बताइन् ।
नेपाल नागरिकता ऐन २०६३ का आधारमा जन्मको आधारमा नागरिकता पाएको र उनीहरुको बालिग भएका शन्तालनले नागरिकता नपाउनु, आमाको नामबाट नागरिकता दिन आनाकानी गरिन दुःखद् भएको उनले बताइन् । सन्तानले आफ्नो बाबुको नाम तोक्न नचाहेको अवस्थामा आमाको नामबाट नागरिकता पाउने बाटो खुलाउनुपर्ने उनको माग छ ।
संघर्ष समितिले देशभर ११ लाखको संख्यामा नागरिकताविहीन नागरिकहरु रहेको बताएको छ । आमाबाबु नेपाली नागरिक भएरपनि कानुन अभावको कारण आफ्ना सन्तानलाई नागरिकता दिन नसक्ने अवस्था आउनु र देशमा जन्मिएका नागरिक राज्यविहीन हुनु गम्भीर विषय भएको संघर्ष समितिको बुझाई छ ।
समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘प्रतिनिधिसभा र राष्ट्रियसभाबाट दुई÷दुईपटक बहुमतले पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाईसकेको विधेयक निष्क्रिय हुन्छ भनेर २०७२ को संविधान कुनै धारा उपधाराले भन्दैन । तसर्थ हाम्रो देश नेपालका भावी राष्ट्रपति सम्माननीय रामचन्द्र पौडेल ज्युलाई नागरिकता विद्येयक २०७९ लाई प्रमाणीकरण गरी लाखौं वास्तविक नेपाली नागरिकको जीवन उज्वल बनाई दिनका लागि हार्दिक अनुरोध गर्दछौं ।’
प्रतिक्रिया दिनुहोस