aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

अमेरिका–युरोपको लागि एउटा भयानक दुःस्वप्न भयो साकार, बेइजिङले दियो ठुलो झट्का

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २७ फागुन २०७९
अमेरिका–युरोपको लागि एउटा भयानक दुःस्वप्न भयो साकार, बेइजिङले दियो ठुलो झट्का

देख्दा–सुन्दा सामान्य लाग्ने तर वैश्विक भूराजनीतिक शक्ति सन्तुलनमा दूरगामी असर पार्ने एउटा घटना हालसालै चीनको राजधानी बेइजिङमा घटित भएको छ । चीनको सल्लाह र मध्यस्थतामा चार दिनसम्म चलेको सघन छलफल र वार्तापश्चात् दुई कट्टर विरोधी देशहरू इरान र साउदी अरेबिया आफ्ना विच्छेदरत सम्बन्धलाई पुनर्स्थापित गर्न तयार भएका छन् ।

यसअनुसार अब रियाद (साउदी अरेबिया) र तेहरान (इरान)ले आफ्ना दूतावासहरू पुन खोल्न तथा कूटनीतिक सम्बन्धलाई पुनः स्थापित गर्ने भएका छन् । साथै, दुवै देशहरूले एक अर्काको सार्वभौमसत्तालाई सम्मान गर्ने र आन्तरिक मामिलामा कुनै पनि किसिमको हस्तक्षेप नगर्ने कुरामा सहमति जनाएका छन् । साथै, दुवै देशले सन् २००१ मा हस्ताक्षर गरेका सुरक्षा सहयोग तथा व्यापार सम्झौतालाई पनि पुनः सुचारु गर्ने भएका छन् ।

इरान र साउदी अरेबियाबिच मिलापत्र गराउनुलाई चीनको ठुलो कूटनीतिक विजयको रुपमा लिइएको छ । विश्लेषकहरूले यस घटनालाई खाडी क्षेत्रमा चीनको प्रभाव बढ्दै गइरहेको अर्थमा व्याख्या गरेका छन् । साथै, हालसम्म खाडीमा अत्यन्तै दृढ रुपमा स्थापित अमेरिकी प्रभुत्व कमजोर बन्दै गइरहेको र खाडीका मुलुकहरूका लागि पनि अन्य विकल्पहरू खुला रहेको परिघटनाको रुपमा पनि यसलाई व्याख्या गर्न थालिएको छ ।

यो मध्यस्थतामा गहन भूमिका खेल्ने चीनका वरिष्ठ कुटनीतिज्ञ/पूर्व विदेशमन्त्री वाङ यीले भनेका छन्, ‘चीनले गरम–बहस बनेका विषयवस्तुहरूलाई सम्हाल्नका लागि रचनात्मक भूमिका खेल्न जारी राख्नेछ र एउटा मुख्य राष्ट्रको रुपमा आफ्ना जिम्मेवारीलाई प्रदर्शन गर्नेछ ।’ उनले साउदी अरेबिया र इरानबिच सम्बन्ध सुधारमा भएको यो उपलब्धिलाई ‘शान्ति र वार्ताको पक्षमा भएको ठुलो विजय’को रुपमा पनि व्याख्या गरेका छन् ।

खाडी क्षेत्रमा विकसित भएको यो नयाँ घटनाक्रमलाई अमेरिका र युरोपका लागि एउटा ठुलो दुःस्वप्नले साकार रूप लिएको घटनाको रुपमा पनि हेरिन थालिएको छ । यो घटना त्यति बेला भएको छ, जुन बेलामा विश्व युक्रेनमा रुसले चालेको ‘विशेष सैनिक अभियान’का कारण ध्रुवीकृत भएको छ । रुसलाई एक्ल्याउन अमेरिका र युरोपले रुसमाथि नाकाबन्दी त लगाएकै छ, टुप्पी कसेर युक्रेनलाई सैनिक सहयोग समेत गरिरहेको छ ।

कुनै बेला खाडी क्षेत्रमा अमेरिकाका बफादार सहयोगी राष्ट्रको रुपमा रहेको साउदी अरेबियाले अमेरिकी–युरोप नाकाबन्दीलाई बेवास्ता गर्दै रुससँगको कारोबारलाई निरन्तरता दिइरहेको छ । हालसम्म अमेरिकी डलरमा मात्रै तेलको कारोबार गर्दै आइरहेको साउदी अरेबियाले अन्य मुद्रामा पनि कारोबार गर्ने भएपछि अमेरिकाको पेट्राेडलरकाे साम्राज्यमाथि १० रेक्टरको झट्का लागेको छ ।

झन् इरानले त यस युद्धमा निर्णायक भूमिका खेलिरहेको ड्रोन तथा अन्य सैनिक सहायता समेत उपलब्ध गराइरहेको छ । यो अवस्थामा, इरान र साउदी अरेबियाबिच सम्बन्धमा सुधार हुनु भनेको निश्चय पनि अमेरिका–युरोपको लागि एउटा भयानक दुःस्वप्नले साकार रूप लिएको परिघटना नै बनेको छ । --- चन्द्र खाकीबाट 

((नोट : वरिष्ठ कुटनीतिज्ञ/पूर्व विदेशमन्त्री हुनुपर्ने ठाउँमा अन्यथा भएकोले सच्चाईएको छ।) 

 

प्रतिक्रिया दिनुहोस