
काठमाडौं । दार्चुलाको लेकम गाउँपालिका–५ का पुरुषोत्तम जोशीले पेट्रोल खरिद गरेबापत भारतीय रुपियाँ दिँदा गोकुलेश्वर पेट्रोलपम्पले लिन मानेन । पम्पले भारु लिन नमानेपछि जोशीले मोबाइल बैङ्किङमार्फत भुक्तानी गरे ।
शैल्यशिखर नगरपालिका–७ का प्रेम धामी गोकुलेश्वरस्थित हार्डवेयर पसलमा छड (सरिया), सिमेन्ट किन्न जाँदा बिक्रेताले सुरुमै सोधे, “तपाईंसँग भारु छ कि नेरु ?” धामीले भारु भएको बताउनेबित्तिकै बिक्रेताले भारु नचल्ने तर चलाउनैपर्ने भए पूरा रकम नपाइने जानकारी दिएपछि सामान नकिनी धामी घर फर्किए ।
केही समय अघिसम्म सीमावर्ती बजारमा किनमेल र उपचारका लागि भारु साट्न कुनै समस्या थिएन । नेपालतर्फ पनि भारु देख्नेबित्तिकै सङ्कलन गरेर राख्ने चलन थियो । नेरुबाट भारु सटहीका लागि कमिसन पनि दिनुपथ्र्यो । तर अहिले ठीक उल्टो छ । बजारमा मात्रै होइन, गाउँमा पनि भारु नचल्ने अवस्था आएको लेकम गाउँपालिका–५ का व्यवसायी कृष्णदेव जोशीले बताए ।
नेरुबाट भारु सटहीका लागि कमिसन पनि दिनुपथ्र्यो तर अहिले ठीक उल्टो भएको छ । बजारमा मात्रै होइन, गाउँमा पनि भारु नचल्ने अवस्था आएको छ ।
पहिले भारतबाट सामान आउँथे र ती सामान किन्न भारुकै खोजी गरिन्थ्यो । अहिले अधिकांश सामान नेपालकै खरिद बिक्री भइरहेको छ । उनका अनुसार दार्चुलाका अधिकांश गाउँमा सामान जाने गोकुलेश्वरलगायत बजारमा भारु चलाउन मान्दैनन् । भारतमा रोजगारी गरेर घर फर्कनेका लागि पनि अहिले भारुबाट नेरु सटही चिन्ताको विषय हुन थालेको छ । पहिले भारु पाउँदा कमिसन दिन तम्सिने व्यापारी नै अहिले नेरु साट्दा कमिसन माग्छन् । एक हजार भारुबराबर एक हजार रुपियाँमा साट्नुपर्ने अवस्था आएको खलङ्गाका एक व्यापारीले बताए ।
भारतको उत्तराखण्ड पिथौरागढबाट नेपाल आउने भारतीयले पनि भारु सटहीमा समस्या भोग्नुपरेको गुनासो गरेका छन् । करिब दुई महिना पहिलेदेखि भारु कमजोर हुँदा स्थानीय सेवाग्राही र व्यवसायी पनि मारमा परेका छन् । हाल आएर भारुको चलनचल्तीमै समस्या देखिन थालेको उद्योग वाणिज्य सङ्घ दार्चुलाका अध्यक्ष सुरेशसिंह थापाले बताए । भारततर्फको कारोबार कम हुँदै गएको र भारु भित्रिनेक्रम यथावत् रहेकाले अहिले भारु कमजोर देखिएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस