aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

राष्ट्रपति विद्या भण्डारीको कार्यकाल सकियो, अब निजी निवासमा सर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २८ फागुन २०७९
राष्ट्रपति विद्या भण्डारीको कार्यकाल सकियो, अब निजी निवासमा सर्ने

काठमाडौं । गणतन्त्र नेपालको दोश्रो व्यक्ति तथा तेश्रो कार्यकाल पुरा गरेकी राष्ट्रपति विद्यादेवी भण्डारीले भोलिसम्ममा सरकारी निवास छोड्नु पर्ने भएको छ । २०७४ साल फागुन २९ गते दोश्रो पटक राष्ट्रपतिमा विजयी बनेकी भण्डारीको कार्याकाल आज राति १२ बजेदेखि सकिने भएपछि उनले राष्ट्रपतिको सरकारी निवास शीतलनिवास छोड्नु पर्ने भएको हो । 

नेकपा (एमाले)को तत्कालीन उपाध्यक्ष रहेकी भण्डारी २०७२ कात्तिक ११ गते राष्ट्रपति पदमा पहिलोपटक निर्वाचित भएकी थिइन् । पार्टी अध्यक्ष केपी शर्मा ओलि निकट रहेकी उनलाई दोश्रो कार्यकालका लागि पनि एमालेले अघि सारेको थियो । 

पहिलो कार्यकालमा त्यति विवाद नभएपनि दोस्रो कार्यकाल विवादित बन्यो । उनी नेकपा एमालेको कार्यकर्ता जस्तो भएको आरोप लाग्यो । उनले संसद विघटनमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएको आरोप लाग्यो । अन्तिममा सरकारले पठाएको नागरिकता विधेयक पनि राष्ट्रपति भण्डारीले रोकिदिइन् । 

नयाँ राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल फागुन २५ गते निर्वाचित भइसकेका छन् । उनको शपथ ग्रहण भोलि हुँदैछ । 

भण्डारी शितलनिवासबाट बुढानीलकण्ठ–२ चपलीस्थित निजी निवासमा सर्ने उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस