aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

डा. चन्द्र भण्डारीको निवासमा यस कारण भएको थियो दुर्घटना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २८ फागुन २०७९
डा. चन्द्र भण्डारीको निवासमा यस कारण भएको थियो दुर्घटना

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद डा. चन्द्र भण्डारीको निवासमा फागुन ३ गते राति भएको ग्यास लिक प्रकरणमा मानवीय त्रुटि रहेको प्रहरीले निश्कर्ष निकालेको छ । एकजनाको ज्यानै जानेगरि भएको उक्त दुर्घटनापछि अनुसन्धान गरेको  महानगरीय प्रहरी वृत्त बानेश्वरले मानवीय कमजोरीका कारणले उक्त दुर्घटना भएको निश्कर्ष निकालेको हो । 

घटनाको सुक्ष्म ढंगले छानबिन गरेको प्रहरीले मानवीय त्रुटिका कारण ग्याँस लिक भएको र त्यहीबेलामा बिजुलीको स्वीच अन गर्दा निस्केको स्पार्कका कारण आगलागी भएको पाइएको बताएको छ । दुर्घटना हुनुमा ग्याँस सिलिण्डरका साथ प्रयोग भएका अन्य उपकारण कारण नभएको भएपनि दुर्घटनामा परेको सिलिण्डरसहितका अन्य उपकरणको प्राविधिक र प्रयोगशाला परीक्षण भने नगरिएको प्रहरीले बताएको छ । 

बाहिरै एक भोजमा सहभागी भएर आएका डा. भण्डारीको निवासमा राति ग्यास लिक भएर उनी र उनकी आमा गम्भीर घाइते भएका थिए । तत्कालै कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिएका उनीहरुमध्ये आमा हरिकलाको शरीरमा ७० प्रतिशत र उनको शरीरमा २५ देखि ३० प्रतिशत जलन भएको चिकित्सकको भनाइ रहेको थियो । 

उपचारकै क्रममा आमा हरिकलाको चार गते बिहान निधन भएको थियो भने सोहीदिन डा. चन्द्रलाई भारतको मुम्बइस्थित नेशनल बर्न सेन्टरमा लगि उपचारका लागि भर्ना गरिएको थियो । 

आज २५ औं दिनमा पनि डा. भण्डारीको उपचार जारी रहेको छ । उनी आफूलाई भेट्न आएकाहरुसँग बोलचाल गर्न र ठोसकुरा खान सक्ने भएको समाचार प्राप्त भएको छ । चिकित्सकले उनलाई अझै केही दिन अस्पतालमै राख्नु पर्ने बताएका छन् । 

प्रतिक्रिया दिनुहोस