
काठमाडौं । जतिबेला अमेरिका र जि–७ साझेदारहरूले रुसको केन्द्रीय बैंकलाई प्रतिबन्ध लगाएर पश्चिमा वित्तीय संस्थालाई कारोबार गर्न निषेध गरेका थिए, त्यति नै बेला टिप्पणीकर्ताहरूले यो व्यवस्थाले विश्वको मौद्रिक तथा वित्तीय व्यवस्थालाई दीर्घकालीन प्रभाव पार्ने चेतावनी दिएका थिए। अन्य देशले यस प्रकारको प्रतिबन्धलाई पश्चिमा राष्ट्रको वित्तलाई सामरीकरण गर्ने अर्को प्रयासका रूपमा मानेका थिए। यही डरले उनीहरूले अेमेरिकी डलर, बैंक र अमेरिकाको आधिपत्य रहेको अन्तरबैंक विश्वव्यापी वित्तीय टेलिकम्युनिकेसन (स्विफ्ट) मा रहेको आफ्नो परनिर्भरतालाई घटाउन सक्ने आकलन थियो।
यो समग्र विकासक्रम र आकलनले चीनलाई सबै भन्दा लाभ हुने प्रष्ट थियो। तर हालसम्म चीनले रुस र पश्चिमा राष्ट्रको यो विवादबाट आफूलाई टाढा राखेको छ। चीनसँग बृहत् बैंकिङ प्रणाली छ। चीनले क्रस–बोर्डर इन्टरबैंक पेमेन्ट सिस्टम स्थापना गरेर रेनमिन्बी (चिनियाँँ मुद्रा) को भुक्तानीलाई सहज पारेको छ र यो व्यवस्थालाई फेडवायर र क्लियरिङ हाउस इन्टरबैंक पेमेन्ट सिस्टम (चिप्स) को विकल्पका रूपमा प्रस्तुत गरेको छ।
रुसले रेनमिन्बी भुक्तानीलाई यसअघि नै स्वीकारेको छ र उसको कुल निर्यातको १४ प्रतिशत हिस्सा यही मुद्राले लिएको छ। रुसको सम्पत्ति कोषमा ४५ अर्ब बराबरको रेनमिन्बी सेक्युरिटी र डिपोजिट रहेको छ। गत वर्ष मात्र रुसी कम्पनीहरूले ७ अर्ब अमेरिकी डलर बराबरको रेनमिन्बी बन्डहरू निष्काशन गरेका थिए। रुसको वर्तमान अवस्थाको पृष्ठभूमिमा यी सबै विकासक्रम अनौठो देखिँदैन। तर के अन्य देशहरू पनि यही दिशामा अगाडि बढ्लान् त ?
गत वर्ष चिनियाँँ राष्ट्रपति सी चिनफिङले साउदी अरेबियाको भ्रमण गर्ने क्रममा रेनमिन्बीमा तेल निर्यात गर्ने विषयमा छलफल भएको थियो। चीनले हालै पाकिस्तान, अर्जेन्टिना र ब्राजिलसँग रेनमिन्बीमार्फत भुक्तानी गर्ने सम्झौता (क्लियरिङ एरेन्जमेन्ट) गरेको छ। गत महिनामात्र इराकको केन्द्रीय बैंकले चीनसँगको व्यापार गर्दा रेनमिन्बीमा प्रत्यक्ष भुक्तानी गर्ने योजना घोषणा गरेको छ।
तर यसप्रकारको बृहत् परिवर्तन तथ्यांकमा मुखरित भैसकेको छैन। अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार विश्वव्यापी वैदेशिक मुद्रा विनिमयको कुल रिजर्भमा रेनमिन्बीको हिस्सा ३ प्रतिशतभन्दा कम छ। यसैगरी स्विफ्टमार्फत हुने अन्तरबैंक भुक्तानीमा यो मुद्राको हिस्सा २ प्रतिशतभन्दा कम छ।
त्यसो त, सबै राष्ट्रले आफ्नो विदेशी मुद्रा सञ्चितिमा रहेको मुद्रागत संरचनाका बारेमा रिपोर्ट गर्ने गर्दैनन् र संभावित प्रतिबन्धको शंकामा रहेका राष्ट्रले त झन यसप्रकारको जानकारी नै दिँदैनन्। उनीहरूले स्विफ्टको इलेक्ट्रोनिक मेसेजिङ सेवाको ठाउँमा अन्तर्देशीय भुक्तानी गर्दा परम्परागतरूपमा प्रयोग हुँदै आएको इमेल, टेलिफोन र फ्याक्स प्रयोग गर्ने गर्छन्।
रुसको वर्तमान परिस्थितिबाहेकको अवस्थामा वित्तीय हिसाबले चीनसँग सीमित वित्तीय गुरुत्वाकर्षण छ। चीनले युद्ध सामग्री रुसलाई सहयोग गरेको अमेरिकी आरोप छ। यो आरोपसँगै चीनलाई माध्यमिक प्रतिबन्ध (सेकेन्डरी स्याङ्सन) लगाउन सकिने देखिएको छ। त्यो अवस्थामा चिनियाँँ बैंकहरूमार्फत हुने अन्तर्देशीय व्यापार प्रभावित हुने प्रष्ट छ।
प्रतिक्रिया दिनुहोस